अमेरिकी निर्वाचन परिणामः लाखौँ मत अवैध घोषणा गर्नुपर्ने ट्रम्पको माग न्यायाधीशद्वारा खारेज

Donald trump

हुलाकमार्फत्‌ दिइएका लाखौँ मत अवैध घोषणा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग पेन्सिलभेनियास्थित एक न्यायाधीशले खारेज गरिदिएका छन्।

न्यायाधीश म्याथ्यू ब्रानले अनियमितता भएको भन्दै गरिएको मागदाबी "जायज नभएको" ठहर गरेका हुन्।

योसँगै पेन्सिलभेनियामा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई विजयी भएको प्रमाणपत्र दिने बाटो खुलेको छ।

उनी त्यहाँ ट्रम्पको भन्दा ८० हजारभन्दा बढी मतले अगाडि छन्।
नोभेम्बर ३ तारिखमा सम्पन्न राष्ट्रपतीय चुनावमा भएको आफ्नो पराजयलाई उल्टाउन खोजिरहेका ट्रम्पका लागि यो अर्को धक्का हो।

चुनावमा आफू पराजित भएको मान्न उनले अस्वीकार गर्दै आएका छन् र कुनै प्रमाणविनै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन्।

ट्रम्पले पराजय स्वीकार नगर्दा सामान्यतया अमेरिकी चुनावपछि शुरू हुने प्रक्रियाहरूमा ढिलाइ भएको छ।

बाइडनले ट्रम्पलाई २३२ विरुद्ध ३०६ इलेक्टरल मतले पराजित गर्ने प्रक्षेपण गरिएको छ।

पेन्सिलभेनियाका न्यायाधीशले के भने?

आफ्नो आदेशमा न्यायाधीश ब्रानले ट्रम्पको चुनावी अभियान समूहले करिब ७० लाख मतदातालाई उनीहरूको मताधिकारबाट वञ्चित गराउने प्रयास गरेको बताएका छन्।

मुद्दामा तनावपूर्ण कानुनी तर्क र आशङ्काका आधारमा कुराहरू गरिएको न्यायाधीशको भनाइ छ।

अरू महत्त्वपूर्ण राज्यको स्थिति के छ?
शुक्रवार जोर्जियाले हातले मतपत्र गनेपश्चात् बाइडनले जितेको प्रमाणपत्र दिएपछि ट्रम्प अभियानलाई धक्का लागेको थियो।

ट्रम्प अभियानलाई पुन: मतगणनाका लागि निवेदन दिन दुई दिन समय बाँकी छ।

अर्को महत्त्वपूर्ण राज्य मिसिगनमा रिपब्लिकन अधिकारीहरूले राज्यको निर्वाचन बोर्डलाई परिणाम प्रमाणीकरण गर्न दुई हप्ताको समय माग्दै पत्र लेखेका छन्।

ट्रम्प समूहले विरोध गरेपछि उनीहरूले सबभन्दा ठूलो काउन्टी डीट्रोइटमा राष्ट्रपतीय मतको पुनः जाँच गर्न माग गरेका थिए।

तर मिसिगन डिपार्टमेन्ट अफ स्टेटले प्रमाणीकरण ढिलो गर्न र पुन: मतगणनता गर्न कानुनले नदिने बताएको थियो।

विस्कन्सिनमा चुनाव अधिकारीहरूले ट्रम्प समर्थकहरूले पुन: मतगणना कार्यमा बाधा पुर्‍याएको आरोप लगाएका थिए।

ट्रम्पका पर्यवेक्षकले हरेक मतमा समस्या देखाउँदै मतगणना कार्य जानीजानी ढिला गराउन खोजेको अधिकारीहरूले बताए।

पुन: मतगणना सम्पन्न गर्न नसकेर डिसेम्बर १ तारिखसम्ममा चुनावको परिणाम प्रमाणीकरण गर्न नसके ट्रम्प समूहलाई मुद्दा हाल्न बाटो खुला हुनेछ।

यहाँ बाइडनले २० हजार भन्दा बढी मतले जितेका थिए।

चुनाव जितेको प्रमाणपत्र किन महत्त्वपूर्ण छ?
अमेरिकीहरूले राष्ट्रपतीय चुनावमा मतदान गरेपछि उनीहरूले खासमा राज्य तहका लागि मत हालेका हुन्छन् राष्ट्रिय तहमा होइन।

उनीहरूले राज्यका अन्य प्रतिनिधिका लागि मत हालेका हुन्छन् जसले अन्ततः राष्ट्रपतिलाई मत हाल्छन्।

उदाहरणका लागि मिसिगनमा उनीहरूले बाइडनका लागि मतदान गर्नुपर्ने हुन्छ किनभने जो बाइडनले उक्त राज्यमा चुनाव जितेका थिए।


औपचारिकता कि अनावश्यक महत्त्व?
एन्थोनी जर्चर

उत्तर अमेरिका संवाददाता

सामान्यत: निर्वाचनमा चुनाव जितेको प्रमाणपत्र दिनु औपचारिकता मात्र रहन्थ्यो। तर अहिलेका राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी चार वर्षसम्म शक्ति कायम राख्न प्रयत्न गर्दा केही राज्यहरू रणमैदानजस्ता भएका छन्।

ट्रम्पले त्यसमा सफलता पाउँलान्? त्यो असम्भव छैन तर त्यसो होला भन्ने सम्भावना धेरै झिनो छ। पहिलो त राष्ट्रपतिले केही राज्यका चुनावी परिणाम उल्टाउनुपर्ने हुन्छ जहाँ बाइडनले दशौँ हजारदेखि लाखसम्म भन्दा बढी मतले जितेका छन्।

फ्लोरिडाको २,००० को जितको मात्र कुरा भएन। ट्रम्पको कानुनी समूहले कारबाही अगाडि बढाएका राज्यहरू मिसिगन, विस्कन्सिन र पेन्सिलभेनियामा डेमोक्र्याटिक गर्भनरहरू छन् जसले यी सबै गतिविधि हुँदा चुप लागेर बस्ने छैनन्।

त्यसको अर्थ बाइडनका समर्थकहरू चिन्तित छैनन् भन्ने होइन।

पृथ्वीमा ठूलो उल्काको धक्का लागेको जस्तो वा ठूलो चिठ्ठा परेका बेला चट्याङ परेको जस्तो यसबेला जित कसैले खोसेर लेला कि भन्ने झिनो सम्भावनाले पनि डेमोक्र्याटहरूलाई असिनपसिन बनाइदिन सक्छ। बिबिसी नेपाली

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...