डोटीका काँग्रेस नेता उपाध्यायको निधन

1

डोटी । नेपाली काँग्रेसका नेता एवं तत्कालीन डोटी जिल्ला विकास समितिका सभापति केशवराज उपाध्यायको उपचारका क्रममा आज कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उपाध्यायको ७४ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस डोटीले जनाएको छ ।

डोटीको साविक बोगटान गाउँपालिका–७ स्थायी घर भई हाल कैलालीको टीकापुरमा बस्दै आएका उनी वि सं २०४९ मा तत्कालीन डोटी जिल्ला विकास समितिको सभापति पदमा निर्वाचित भएका थिए ।

उनले प्रजातन्त्र स्थापना र पुनःस्थापानका लागि काँग्रेसले थालेको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका तीन छोरा र श्रीमति छन् । स्वर्गीय उपाध्यायको आजै कैलालीको कर्णाली नदी घाटमा आज अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा काँग्रेस नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस