राप्रपा त्यागेका सुनीलबहादुर थापा बने कांग्रेसको सहमहामन्त्री

Sunil thapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नेपाली कांग्रेसमा प्रवेश गरेका सुनीलबहादुर थापा नेपाली काँग्रेसको सहमहामन्त्री बनेको छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको हो ।

केहि समयअघि राप्रपामा असन्तुष्ट बनेका सुनिल थापा र उनी निकट नेतासहितका नेताहरु साउन १३ गते नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच सभापति शेरबहादुर देउवा लगायतले पार्टी प्रवेश गराएका थिए । त्यो बेला सहमहामन्त्री र पाँच केन्द्रीय सदस्य पाउनेगरी थापाको समूह काँग्रेसमा प्रवेश गरेको थियो ।

राप्रपाका संस्थापक अध्यक्ष तथा पूर्वप्रधाामन्त्री स्व. सूर्यबहादुर थापाका छोरा सुनीललाई महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा थापा समूहको व्यवस्थापन गर्नेबारेको प्रस्ताव पेस गरेका थिए । सोहीअनुसार थापासँगै काँग्रेस प्रवेश गरेका अन्य ७ जना नेतालाई काँग्रेसको केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

कांग्रेसले रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं) र टि.एन. योगी (ललितपुर) लाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ भने दिलीप राई (झापा), कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् ।

२०७० सालमा सम्पन्न संविधानसभा चुनावमा धनकुटाबाट निर्वाचित थापा तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा आपूर्ति तथा वाणिज्यमन्त्री समेत भएका थिए ।

प्रतिकृया दिनुहोस