नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

1591690611.nekapa sachiwalaya

काठमाडौं । लामो रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बिहीबार महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजे सचिवालय बैठक बोलाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएका छन् ।

यसैबीच नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यले आजको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएका छन् ।

बिहीबार प्रचण्ड निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको छलफलमा सहभागी एक नेताले बताए ।

बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । पार्टीभित्र विवाद चुलिएको बेला भएको आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस