आज ४ बजे नेकपा सचिवालय बैठक बस्दै, आ–आफ्नै रणनीति बनाउँदै ओली–दाहाल पक्ष

Nekapa sachibalaya baithak

काठमाडौं । आन्तरिक विवादमा फसेर विभाजनकै मुखमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाभित्रको विवादका विषयमा छलफल हुनेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि बैठक बोलाउन अस्वीकार गरेपछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले कार्यकारी अधिकारको प्रयोग गरेर बैठक बोलाउने तयारी गरेपछि ओली बैठक बोलाउन सहमत भएका थिए ।

ओली–दाहालबीच पटकरपटक भएका छलफल निचोडमा नपुगेपछि दाहाल सहितका पाँच नेताको सचिवालय बैठक राख्न माग गरेका थिए ।आज बस्ने बैठक भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को सहमतिमा महासचिव विष्णु पौडेलले बोलाएका हुन् ।

कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल सहितका बहुमत सचिवालय सदस्यहरू ओलीले पार्टीभित्र सल्लाह नै नगरी महत्वपूर्ण राजनीतिक नियुक्तिलाई निरन्तरता दिएपछि रूष्ट छन् ।

२६ भदौको पार्टी स्थायी कमिटी बैठक र विवाद समाधानका लागि गठित कार्यदलले दिएको म्यान्डेट विपरित ओली अघि बढिरहेपछि दाहाल–नेपाल सहितका बहुमत सचिवालय सदस्यहरूले अब कसरी प्रस्तुत हुने भनेर छलफल तीव्र पारेका छन् ।

नेकपाभित्रको विवाद बढ्दै गएपछि आजको बैठकमा लागि दुबै पक्षले आआफ्नो तयारी गरेका छन् । ओलीले आफू निकट नेताहरुसँग निरन्तर छलफल गरेका छन् भने प्रचण्डले पनि आफू निकट नेतासँग परामर्स गरेका छन् ।

प्रचण्डसहितका नेताहरुले अध्यक्ष ओलीले भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नगरेर विगतको सहमति उल्लंघन गरेको आरोप लगाएका छन् भने ओलीले प्रचण्डसहितका नेताले आफूविरुद्ध गुटबन्दी गरेको बताउँदै आएका छन् ।

नेकपामा कर्णालीमा मुख्यमन्त्रीविरुद्ध ओली पक्षका नेताहरुले दर्ता गरेको अविश्वासको प्रस्ताव, पर्सामा नेकपाका गाउँपालिका सचिवको हत्या, ओलीले कुटनीतिक मर्यादाविपरित गरेको रअ प्रमुखसँगको भेटवार्ता, मन्त्रिपरिषद् बिस्तार तथा हेरफेर र राजदूतको नियुक्तिलगायतका विषयले विवाद बढेको छ ।

प्रतिकृया दिनुहोस