विश्वमा एकैदिन थपिए ६ लाख बढी कोरोना संक्रमित, १० हजारको मृत्यु

Corona 3

एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमण तिब्ररुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टाभित्र विश्वमा ६ लाख दुई हजार ६५४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड २४ लाख १० हजार ८२७ र मृत्यु हुनेको संख्या १२ लाख ८८ हजार ७१८ पुगेको छ । विश्वमा थप १० हजार ७५९ जनाले ज्यान गुमाउन पुगेका छन् ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बिहीबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ८८ हजार ७१८ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४६ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड २४ लाख १० हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।


कूल संक्रमितमध्ये ६९.९४ प्रतिशत अर्थात् तीन करोड ६६ लाख ५४ हजार ४९५ जना उपचारपछि निको भइसकेका छन् । बाँकी एक करोड ४४ लाख ६७ हजार ६१४ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन् ।


पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ३६ हजार ८०० जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ३५५ जनाले ज्यान गुमाएका हुन् । भारतमा पछिल्लो २४ घण्टाभित्र ४८ हजार २८५ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५४९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

फ्रान्समा ३५ हजार ८७९ नयाँ संक्रमित थपिएका छन् भने ३२८ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र ब्राजिलमा ४७ हजार ७२४, इटलीमा ३२ हजार ९६१, पोल्यान्डमा २२ हजार २२१, बेलायतमा २२ हजार ९५०, रसियामा १९ हजार ८५१, जर्मनीमा २० हजार ५३६, कोलम्बियामा आठ हजार ६५१ तथा इरानमा ११ हजार ७८० जना नयाँ संक्रमित थपिएका छन् ।

 

प्रतिकृया दिनुहोस