नेकपा विवाद : बैठक बोलाउन ओलीलाई प्रस्ताव, ओलीले नबोलाए प्रचण्डले औपचारिक बोलाउने

Oli prechand

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् ।

नेकपाको विवाद उत्कर्षमा पुगेकै बेला पनि आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा झण्डै एक घन्टा भेटवार्ता भए पनि सचिवालय बैठक राख्न ओली सहमत भएका छैनन् ।

भेटवार्ताको क्रममा आज पनि ओलीले बैठक राख्न अस्वीकार गरेका र सकभर टार्ने कुरा गरेको प्रचण्डले सचिवालयको अनौपचारिक बैठकमा ब्रिफिङ गरेका छन् । बैठकमा प्रचण्डले भने, ‘उहाँ (ओली) ले बैठक राखौँ न त पर्सी भनेको मान्नु भएको छैन । किन अहिले नै बस्नुपर्ने भन्दै उहाँले प्रश्नु गर्नुभयो । अन्तिममा उहाँले सल्लाह गर्छु भन्नु भएको छ ।’

प्रचण्डले पर्सी सचिवालय बैठक जसरी पनि बस्ने भन्दै ओलीलाई औपचारिक बैठकमा उपस्थित हुन आग्रह गरेर पार्टी कार्यालय फर्किएका छन् । दाहालले मंगलबार दिउँसो ४ बजे पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयका सदस्यलाई छलफलका लागि बोलाएका छन् ।

प्रधानमन्त्री ओलीलाई भेटेपछि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालयका बहुमत सदस्यको बैठकमा ओलीसँगको भेटबारे दाहालले ब्रिफिङ गरेका थिए ।

बैठकमा प्रचण्डले भने, ‘उहाँले आलटाल गरेपछि मैले तपाईँ पर्सी बिहीबारको बैठकमा आउनुस्, अब सबै विषयमा त्यहीँ छलफल गरौँ भनेर हिँडेको छु । अब लामो समयसम्म पार्टीलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन ।’

कात्तिक २१ मा पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष दाहालले बोलाएको अनौपचारिक बैठकमा पार्टीको औपचारिक बैठकको सहमतिका लागि ओलीलाई लिखित पत्रसहित सामूहिक भेटेर आग्रह गर्ने निर्णय गरेका थिए । त्यही निर्णयअनुसार कात्तिक २२ मा पुनः धुम्बाराहीमा छलफलपछि दाहालसहितका बहुमत सदस्य ओलीलाई दुई पेज लामो पत्र बुझाउन बालुवाटार गएका थिए ।

ओलीले लिखित आग्रह गर्दा पनि बैठक नबोलाएपछि पर्सीसम्म बैठकका लागि प्रचण्डले सूचना जारी गर्नेछन् । प्रचण्डले महासचिव विष्णु पौडेलमार्फत ओलीलाई बैठक बोलाउने सन्देश पठाइसकेका छन् ।

आफूसँग बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागि ओलीलाई लिखित आग्रह गरिएको र त्यो आग्रहलाई बेवास्ता गरिएकाले अब आफैले बैठक बोलाउने प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले बताएका छन् ।

९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा छन् । ओलीको पक्षमा ईश्वर पोखरेल छन् । महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादलले दुबैतर्फ आफूहरु रहेको बताउँदै आएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डलाई भने खनाल, नेपाल, गौतम र श्रेष्ठको साथ छ ।

प्रतिकृया दिनुहोस