अनुशासन आयोगले भन्यो, आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक जरुरी छ

Nekpa ofice

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनुशासन आयोगले पार्टीभित्र देखिएको विवाद समाधान गर्नका लागि आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेको छ ।

पार्टीमा ओली र प्रचण्ड–नेपाल समूहबीच विवाद चर्किरहेका बेला अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले आरोप प्रत्यारोप रोक्न आग्रह गरेका हुन् । सोमबार वक्तव्य जारी गर्दैै बोहोराले नेतृत्वलाई विगतमा ठूलठूला विवाद अन्तरपार्टी संघर्षबाट समाधान गरेको स्मरण गराएका छन् ।

नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन लिखित रुपमै माग गरेका छन् । तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक नबोलाउन त भनेका छैनन् । तर मिति तय भइसकेको छैन ।

आयोगका अध्यक्ष बोहराले एक विज्ञप्तिमार्फत तत्काल बैठक राखेर विवाद समाधान गर्न आग्रह गरे । पार्टीको बैठक बोलाउने विषयलाई प्रतिष्ठाको विषय बनाएर बस्न नहुने उनको सुझाव छ ।

पार्टी एकताका बाँकी काम अविलम्ब पुरा गर्नुपर्ने र भाका सारेर बस्नु नेतृत्वको कमजोरी भएको भन्दै उनले तत्काल पार्टीलाई चलायमान बनाउन पनि आग्रह गरेका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘२६ भदौको स्थायी कमिटी बैठकले कार्यान्वयनका निमित्त गरेका निर्णयहरु समेत आजपर्यन्त अलपत्र छन् । बरु त्यसलाई अनेकौं बहानामा पन्छाउने काम भइरहेको छ ।’

उनले विज्ञप्तिमा भनेका छन्, ‘जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं । पार्टी एकताका बाँकी सबै काम छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र सङ्गठनात्मक रुपमा एकताबद्ध बनाऔं । पार्टीमा देखापरेका अनुशासन र पद्दतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा विचलन जस्ता विद्यमान विकृति र विसङ्गतिलाई सघन वैचारिक सङ्घर्षद्वारा परास्त गरौँ ।’

प्रतिकृया दिनुहोस