नेकपा विवाद : बालुवाटारमा ओली–प्रचण्डबीच बेस्सरी भयो सवाल जवाफ, निस्किएन निष्कर्ष

Kp vs 4 neta

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेताबीच शनिबार पौने २ घण्टा छलफल भएको छ ।

सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई मनाउन पाँच नेता बालुवाटार पुगेका थिए । धुम्बाराही छलफलमा सहभागी नभएका महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ सिंहदरबारको छुट्टै छलफलमा सहभागी थिए ।

धुम्बाराहीमा भएको बैठकमा प्रचण्डले अध्यक्ष ओलीले बिना सहमति औपचारिक बैठक बोलाए पार्टी फुटको बिन्दु त्यही हुने भन्दै चेतावनी दिएको ‘ब्रिफिङ’ गरेका थिए ।

भेटमा नेताहरुले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउन लिखित पत्र बुझाएका छन् । सचिवालय बैठक बोलाउनुपर्नेसँगै पत्रमा पछिल्ला दिनमा पार्टीभित्र देखिएका विवाद र सरकारले गरेका कामको समीक्षा हुनुपर्ने माग गरिएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित ओलीलाई पत्र बुझाउन वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपालसँगै उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए । नेताहरुसँगको भेटमा ओलीले बैठक बोलाउने आश्वासन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

छलफलको सुरुवात कार्यकारी अध्यक्ष प्रचण्डले गरेका थिए । उनी सचिवालय बैठकका लागि सहमति दिन लिखित आग्रह गर्नुपर्ने अवस्था किन आयो भनेर पृष्ठभूमिसहित बोलेका थिए । प्रचण्डले स्थायी कमिटी बैठक टुंग्याउने क्रममा सहमतिको मस्यौदा बनाउन कार्यदल गठन भएसँगै गडबडी सुरु भएको बताए ।

१० असारमा सुरु भएको स्थायी कमिटी बैठक जारी रहेका बेला प्रधानमन्त्री ओलीले १४ असारमा सार्वजनिक रुपमै भारतले आफ्नो सरकार ढाल्न खोजेको र त्यसमा नेपालका नेताहरूले पनि भूमिका खेलेको अभिव्यक्ति दिएका थिए ।

प्रचण्डले यसो भनिरहँदा अर्का अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरेको एक नेताले बताए । ‘झेली कुरा गर्ने रु मैले बैठक नबस्ने कहाँ भनेको छु रु’ भनेर ओलीले प्रतिवाद गरे ।

कार्यकारी अध्यक्ष प्रचण्डले भने ‘बैठक बस्न कहाँ मान्नुभयो’ भनेर प्रतिप्रश्न गरेका थिए । एक नेताका अनुसार दुई अध्यक्षबीच केहीबेर नोकझोक चल्यो ।

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्‍त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड(नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ ।

यस्तो थियो सवाल जवाफ
ओलीले रिसाएको अनुहारमा पत्र बुझे, पत्र हातमा परेसँगै उनले सबै पढे । त्यसपछि ओलीले प्रचण्डप्रति आक्रामक प्रस्तुती देखाए । उनले भने, ‘मैले बैठक ढिला हुन्छ पो भनेको छु । बैठक नबस्ने कहाँ भनेको छु ? जाली, रकमी, फटाहा र झेली कुरा गर्ने ? मेराविरुद्ध जहिल्यै गुटबन्दी गर्ने ?’

प्रचण्डले उनको कुरा पूरा हुन नपाउँदै जवाफ फर्काए । उनले भने, ‘तपाईँ हो जाली, फटाहा । कोरोनाको उपचार नपाएर जनता मरिरहँदा पनि राज्यशक्तिको दुरुपयोग गर्दै जहिल्यै बालुवाटारमा गुटबन्दी गर्ने र पार्टी बैठक नबोलाउने । आफूबाहेक अरु ठिक छैनन् भन्ने तपाईँ अहंकारी हो ।’

पाँचै नेताको धारणा सुनिसकेपछि प्रधानमन्त्री एवं अध्यक्ष ओली बोलेका थिए । उनले अर्का अध्यक्ष प्रचण्डमाथि जालझेल र गुटबन्दी गरेको आरोप लगाएका छन् ।

तर नेताहरुले ‘तपाईँ पार्टीको बैठक बस्न नचाहने, आफूखुसी भेला र छलफल गर्ने, हामीले चाहिँ हेरेर बस्नुपर्ने ?’ भन्दै प्रतिप्रश्न गरेका थिए । छलफलमा पाँच नेताले सचिवालयको बैठक सकेसम्म भोलि, नभए पर्सि बोलाउनुपर्ने भन्दै ओलीको सहमति मागेका थिए ।

छलफलमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई तपाईँ आफ्नो आत्मालोचना गर्न किन तयार नहुने ? यतिका नेताहरूले किन बिरोध गरे भनेर नसोच्ने भनेर प्रश्न गरेका थिए भने झलनाथ खनालले बैठक नै नबस्ने र छलफल नै नगर्नु गलत भएको बताएका थिए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड-१९ को संक्रमण, त्यसले स्वास्थ्य र आर्थिक क्षेत्रमा पारेको संकट लगायतका विषयमा छलफल गर्न बैठक माग गर्दै आफूले दुबै अध्यक्षलाई पत्र लेखेको स्मरण गरेका थिए ।

श्रेष्ठले बैठक माग गर्दै दुबै अध्यक्षलाई १ कात्तिकमा पहिलो पत्र लेखेका थिए भने ९ कात्तिकमा दोस्रो । पत्रमा कोभिड(१९ ले उत्पन्न गरेको स्वास्थ्य संकट टार्न ५ देखि १० हजार आइसोलेसेन सेन्टर बनाउनुपर्ने, आईसीयू, भेन्टिलेटर बढाउनुपर्ने, अक्सिजन तथा अत्यावश्यक औषधि भण्डारी गर्नुपर्ने, कोभिडको परीक्षण तथा उपचार निःशुल्क गर्नुपर्ने उल्लेख थियो ।

 

प्रतिकृया दिनुहोस