ओलीलाई फकाउन बालुवाटार पुगे ‘प्रचण्ड’सहितका नेकपाका सचिवालय सदस्यहरु

Pm niwas baluwatar

काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अनौपचारिक बैठकपछि नेकपाका शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठकका लागि मनाउन पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ बालुवाटारमा पुगेका हुन् ।

शुक्रबार र शनिबार पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकमा अध्यक्ष ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी थिएनन् । शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीले जुनसुकै बेला पनि पार्टी विभाजन हुन सक्ने चेतावनी दिएको बिफ्रिङ गरेका थिए ।

बालुवाटार पुगेर प्रचण्डसहितका नेताहरुले पार्टीको औपचारिक बैठक बोलाउन पहल गर्नेछन् । हिजो बसेको सचिवालयको अनौपचारिक बैठकले बैठक बोलाउनका लागि ओलीलाई सामूहिकरुपमै भेटेर पहल गर्ने निर्णय गरेको थियो ।

९ सदस्यीय सचिवालयमा प्रचण्ड बहुमतमा छन् भने ओली अल्पमतमा छन् । पार्टीका सबै संरचनामा अल्पमतमा परेपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले बैठक बोलाउन मानिरहेका छैनन् ।

प्रधानमन्त्री ओलीले पार्टी बैठक नबस्ने र बैठकले कुनै निर्णय गरेमा पार्टी विभाजन हुने चेतावनी दिँदै आएका छन् । उनले आफू निकटसँग अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने वा अन्य कुनै कदम चाल्ने भन्ने विषयमा निरन्तर परामर्श गरिरहेका छन् ।

नेकपामा स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नभएको मात्र नभएर कर्णाली प्रकरण, पर्सा घटना, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, राजदूत नियुक्ति र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग कुटनीतिक मर्यादाविपरित गरेको भेटले विवाद उत्कर्षमा छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल-नेपाल पक्षको आरोप छ ।

तर, पार्टी काममा केन्द्रित हुने पर्ने दाहालले सरकारले गर्ने स-साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् । विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल-नेपाल समूह ओलीलाई पदच्युत गर्ने दाउमा लागेको बताइन्छ ।

प्रतिकृया दिनुहोस