नेकपा सचिवालयको अनौपचारिक बैठक : ओलीलाई सामूहिक आग्रह गर्ने धुम्बाराही बैठकको निष्कर्ष

Ncp office dhumarahi

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बैठकका लागि सामूहिक आग्रह गर्ने निष्कर्ष निकालेको छ ।

पार्टीको औपचारिक बैठक बोलाउन कार्यकारी अध्यक्षले मिल्ने भए पनि एकतालाई ध्यान दिँदै अर्का अध्यक्ष ओलीको सहमतिमै बैठक बोलाउने नेताहरुबीच सहमति भएको छ । बिहीबार ओलीसँगको छलफलमा दाहालले जानकारी दिएर नै सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए ।

बैठकमा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए । तर, प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली, सचिवालय सदस्य रामबहादुर थापा, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल भने सहभागी थिएनन् ।

यसअघि ओलीसँग प्रचण्डले ‘वान अन वान’ भेटवार्ता गर्दै आएका थिए । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता जोगाउन सामूहिक रुपमा भेटेर प्रधानमन्त्रीसँग कुरा गर्ने निष्कर्ष निकालिएको बताए ।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले औपचारिक बैठक राखे त्यहीबाट पार्टी विभाजन हुने ओलीले बताएपछि अनौपचारिक छलफल राखिएको जानकारी गराएका थिए । प्रचण्डले प्रधानमन्त्री ओलीकै सहमतिमा अनौपचारिक बैठक बोलाइएको जानकारी दिएका थिए ।

आजै बिहान नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डलाई भेटेका थिए । छलफलमा अध्यक्ष प्रचण्डले अवस्था चुनौतीपूर्ण देखिएको र आफूले सकारात्मक पहल गरेको बताएका थिए ।

बिहीबार मात्रै दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ता सकारात्मक हुन सकेको थिएन । अध्यक्ष दाहालले बैठक बोलाएर सबै समस्याको छलफल त्यहीँ गर्न अडान राखेका थिए । अर्का अध्यक्ष ओली भने बैठक अघि दुई अध्यक्षबीच समझदारी भएपछि मात्रै बैठक बोलाउने अडानमा छन् ।

पछिल्लो समय बैठकको निरन्तर माग गरिए पनि ओलीले आफूले बैठक पनि नबोलाउने र बैठकको निर्णय पनि कार्यान्वयन नगर्ने बताउँदै आएका छन् । पार्टीका सबै तहमा अल्पमतमा परेपछि उनले बैठक टार्दै आइरहेका छन् ।

आजको बैठकमा प्रचण्डले औपचारिक बैठक राखेमा पार्टी त्यहीँबाट विभाजन गर्ने ओलीले चेतावनी दिएको पनि सचिवालय सदस्यलाई जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस