ग्वाटेमालामा शक्तिशाली समुद्री आँधी, कम्तीमा ५० को मृत्यु

Samudrik andhiko karan pahiro

एजेन्सी । मध्य अमेरिकी मुलुक ग्वाटेमालामा आएको शक्तिशाली समुद्री आँधीपछि भारी वर्षाको कारण गएको पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

ग्वाटेमालाका राष्ट्रपतिले मृत्युहुनेमध्ये आधा मानिसको मृत्यु एक सहरमा भएको थियो, जहाँ पहिरोमा परी २० घर पुरिएका छन् । एटा नामक यो समुद्री आँधीको कारण छिमेकी मुलुक निकारागुआमा पनि पहिरो गएको थियो ।

ग्वाटेमालामा राष्ट्रपतिले यसविषयमा जानकारी दिँदै बिहीबार ग्वाटेमालामा समग्र एक महिनामा पनि नहुने वर्षा केवल एक दिनमा नै भएको बताएका छन् । निरन्तर वर्षा भइरहेकाले उद्धारकर्मीहरु पनि प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन् ।

राष्ट्रपतिले प्रभावित क्षेत्रमा अब पैदलकै माध्यमबाट भए पनि उद्धारकर्मी पठाउने तयारी भइरहेको बताएका छन् । एटा समुद्री आँधी सबैभन्दा पहिला निकारागुआमा आएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो समुद्री आँधीको कारण अहिलेसम्म मध्य अमेरिकी क्षेत्रमा ७० भन्दा धेरैको मृत्यु भइसकेको छ । अहिले यो समुद्री आँधी क्युवा र फ्लोरिडातर्फ अघि बढिरहेको छ ।

 

प्रतिकृया दिनुहोस