प्रचण्डले बोलाए सचिवालयको अनौपचारिक बैठक, ओली बैठकमा नआउने

Ncp office dhumarahi

काठमाडौं । बिहीबार बालुवाटार पुगेर अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भटेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।

विवाद उत्कर्षमा पुगेकै बेला अध्यक्ष दाहालले शुक्रबार ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् । पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउन नमानेपछि कार्यकारी अधिकार प्रयोग गरेर प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । बैठकका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिएको छ । यद्यपि अध्यक्ष ओली भने नआउने बताइएको छ ।

नेकपाको सचिवालयमा ओली, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा बादल सदस्य छन् । आजै बिहान नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डलाई भेटेका थिए । छलफलमा अध्यक्ष प्रचण्डले अवस्था चुनौतीपूर्ण देखिएको र आफूले सकारात्मक पहल गरेको बताएका थिए ।

बिहीबार मात्रै दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ता सकारात्मक हुन सकेको थिएन । अध्यक्ष दाहालले बैठक बोलाएर सबै समस्याको छलफल त्यहीँ गर्न अडान राखेका थिए । अर्का अध्यक्ष ओली भने बैठक अघि दुई अध्यक्षबीच समझदारी भएपछि मात्रै बैठक बोलाउने अडानमा छन् ।

प्रतिकृया दिनुहोस