ओली–प्रचण्डबीचको भेट विना निष्कर्ष टुंगियो, भेट आरोप प्रत्यारोपमै सीमित

Oli prechand

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न प्रचण्ड बिहीबार बालुवाटार पुगेका थिए । तर कुनै ठोस सहमति हुन सकेन । ओलीलाई जनताको बहुदलीय जनवाद (जबज) को बहस ब्युँताएर एकता विरोधी काम गरेको आरोप लगाएका छन् ।

‘हामीले पार्टी विधानमा पार्टीको विचार ‘जनताको जनवाद’ हुने सहमति गरेका छौं । तपाईं आफूनिकट नेताहरुलाई अब पार्टीको विचार जबज हो भन्दै तलसम्म लैजाउँ भन्नुहुन्छ‚’ प्रचण्डले भने, ‘एकता महाधिवेसनमा विचारको बहस गर्ने भनेका छौं । तपाईं बेला न कुबेला एक्लौटी ढंगले जबजको बहस गर्नतिर लाग्नुहुन्छ । अध्यक्षले जबजको बहस गर्दा एकता विरोधी हुन जान्छ । त्यस्तो नगर्नुस् । ठिक भएन ।’

भेटमा प्रचण्डले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबारे चासो राखेका थिए । ओलीले बुधबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका थिए । प्रचण्डले कसले राजीनामा मागेको हो भनेका सोधेका थिए ।

प्रचण्डले पार्टी विधानविपरीत आफू निकट नेताहरुलाई जबजको बहसमा लाग्न गरेको आग्रहले पार्टी एकता संकटमा पर्ने बताए । प्रदेश १ को भर्चुअल बैठकतर्फ संकेत गर्दै यस्ता छलफलभन्दा पार्टीको बैठक बोलाउनुपर्ने बताएका छन् । सचिवालय बैठक बसेर छलफल गर्नुपर्ने उनको जोड थियो ।

प्रचण्डले प्रदेश १ मा ओलीले आफू निकट नेताहरुको भेला गरेकामा पनि आपत्ति जनाएका छन् । उनले भने, ‘तपाईँले आफूलाई पहिलो नम्बरको अध्यक्ष भन्ने अनि पार्टी फुटाउन भेला गर्दै हिड्ने ? पार्टी बैठक राख्ने, बैठकका निर्णय मानेर जाने कुरामा ध्यान नदिने अनावश्यक कुरामा ध्यान दिएर कस्तो पार्टी बनाउन लाग्नु भएको हो ?’

जवाफमा प्रधानमन्त्री ओलीले तपाईंहरुले पनि यस्ता छलफल गर्नु भएकै छ भनेका थिए । पार्टीको बैठक बोलाउन विषयमा दुई अध्यक्षबीच सहमति हुन नसकेको स्रोतको दाबी छ ।

ओलीले आफ्ना कुरा पार्टी बैठक बोलाएर छलफल गर्नुपर्ने आवश्यकता नभएको जिकिर गरे । ‘अहिले कोरोना महामारी छ। यस्तो बेलामा किन बैठक बोलाउनु पर्‍यो ? फेरि मेरो र सरकारको आलोचना सुन्न किन चाहियो बैठक ?’ ओलीले भने, ‘बोलाउदिनँ बैठक सैठक । बैठकको कामै छैन । यदि बैठक बोलाउनुभयो भने बैठकको निर्णय पनि मान्नेवाला छैन ।’

प्रचण्डले पार्टी विवादका विषयमा बारम्बार सचिवालय बैठक बोलाएर छलफल गर्न गरेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरे । 

प्रतिकृया दिनुहोस