नेकपा विवाद : पार्टी विभाजन रोक्न राष्ट्रपति भण्डारीको बढ्यो सक्रियता, गौतमसँग गरिन् अनुनय

Bidya vandari bamde gautam vet

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको संगारमा पुगेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी विभाजन रोक्न सक्रियता देखाउन थालेकी छन् ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको टकरावले पार्टी विभाजनको मुखैमा पुगेको बेला राष्ट्रपति भण्डारीले त्यसलाई रोक्न विभिन्न नेताहरुसँग भेटघाट थालेकी छन् । यही क्रममा उपाध्यक्ष वामदेव गौतमसँग शितलनिवासमा भेटवार्ता गरेकी छन् ।

मंगलबार अपरान्ह शितलनिवासबाट बोलाइएपछि गौतम राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए । भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेकी छन् । शितलनिवासमा गौतम र राष्ट्रपति भण्डारीबीच आधा घण्टा कुराकानी भएको थियो । जवाफमा उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने बताए ।

जवाफमा गौतमले आफु जहिल्यै पार्टी एकताको पक्षमा रहेको भन्दै आफुले निर्वाह गर्ने भूमिका गर्न तयार रहेको बताएका थिए । आफु सधैं एकताकै पक्षमा रहेको र अहिले पनि एकता टुट्नु हुँदैन भन्दै आएको कुरा राष्ट्रपति भण्डारीलाई सुनाएका थिए ।

नेकपाभित्र विवाद चर्किएका बेला गौतम शितल निवास पुग्नु अर्थपूर्ण मानिएको छ । आइतबार उपाध्यक्ष गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि सहभागी भएका थिए । नौ सदस्यीय सचिवालयमा गौतम निर्णायक अवस्थामा छन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनमा गौतम सहभागी हुँदै आएका छन् । गएको असार १० देखि बसेको स्थायी कमिटी बैठकमा त गौतमले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका थिए । तर, पछि गौतम आफ्नो अडानबाट पछि हटेका थिए ।

भेटमा राष्ट्रपति भण्डारीले नेकपामा आएको विवादका बारेमा चासो राखेकी थिइन् । त्यसक्रममा उनले गौतमलाई पार्टी एकता भंग हुन लागेको भन्दै समन्वयकारी भूमिका खेल्न र पार्टी एकता जोगाउन आग्रह गरेकी थिइन् ।

‘तपाईले विगतमा पनि पार्टी अप्ठ्यारोमा परेका बेला महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । अहिले पनि अवस्था जटिल छ’, राष्ट्पति भण्डारीले गौतमसँग गरेको सम्वादलाई उदृत गर्दै स्रोतले भन्यो, ‘यो पटक पनि तपार्इको भूमिका आवश्यक छ । त्यसका लागि तपाईले भूमिका निर्वाह गर्नुपर्यो ।’

पछिल्लो केही दिनयता नेकपाभित्र अन्तरविरोध चर्किएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले पार्टी बैठकका निर्णय नमानेको भन्दै इतरपक्षबाट असन्तुष्टि जनाइरहेका बेला गत शनिबार ओलीले बरु पार्टी अलग गरौं भन्ने प्रस्ताव अघि सारेका थिए ।

ओलीको यस्तो प्रस्ताव सार्वजनिक भएपछि ओली आफै पार्टी विभाजन गर्न लागेको आशंका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गर्दै आएका छन् । प्रचण्डसँगको सम्वादमा ओलीले बैठक नराख्ने र पार्टी निर्णय पनि नमान्ने चेतावनी दिएपछि विवाद चर्कन पुगेको थियो ।

यही विवादका कारण पछिल्लो समय ओली र प्रचण्डबीच भेटवार्ता समेत हुन छाडेको छ । यही क्रममा विभिन्न तहका नेताहरु पार्टी विभाजन रोक्न लागि परेका छन् । तर ओली र प्रचण्ड समूह टसको मस बनेका छैनन् ।

प्रतिकृया दिनुहोस