नेकपा विवाद : फुटलाई रोक्न सक्लान् त दोस्रो तहका नेताले ?

Nekapa neta

काठमाडौं । सत्ताको एकलौटी बागडोर सम्हालिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केही दिनयता आफैं तरंगित छ । विवाद अन्त्य भएको ठानिएको डेढ महिना नबित्दै नेकपाको एकता फेरि धरमराएको छ । पार्टी फुटको संघारमा पुगेको छ ।

पछिल्लो समय देखिएको उतारचढाव र आइतबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको मतभेदले निम्त्याएको पार्टीभित्रको संकटलाई लिएर सत्ता र बाहिर रहेका नेताहरूले यसलाई आ–आफ्नै ढंगले व्याख्या गर्न थालेको छ ।

पार्टीभित्र चरम गुटबन्दी चलिरहेको र पार्टीको झगडाले सरकार र देश नै संकटमा पर्ने भन्दै नेकपाका नेताहरू केही दिनयता चर्को रुपमा पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डप्रति रुष्ट बनिरहेका छन् ।

अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ बीच चर्केको मतभेद पार्टी फुटकै तहमा पुग्न लागेपछि नेकपाका दोस्रो तहका नेताहरूले एकता जोगाउने प्रयासमा भन्दै दौडधुप तीव्र पारेका छन् ।

पार्टी महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, देवेन्द्र पौडेल, योगेश भट्टराई, घनश्याम भुसाल लगायत अध्यक्षद्वयबीच सहमति बनाउन लागि परेका छन् ।

दुवै पक्षका यी नेताहरूले नेतृत्वलाई खबरदारी गर्दै आन्तरिक एवं बहुपक्षीय छलफल तीव्र पारेका हुन् । अध्यक्षद्वय ओली र दाहाल पनि आफू निकटका नेताहरूसँग आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि अध्यक्षद्धयले बालुवाटार र खुमलटारमा गुटगत भेला र भेटघाट तीव्र बनाएपछि दोस्रो तहका नेताहरुको प्रयास विफल बन्ने देखिएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेट र त्यहाँ भएका विषयवस्तुबारे जानकारी दिन दाहालले आइतबार वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई खुमलटार बोलाएर थप कदमबारे परामर्श गरेका थिए ।

दाहालले खुमलटार बैठकमा पार्टी फुटको नजिक पुगेको ब्रिफिङ गरेका थिए । उनले प्रधानमन्त्री ओलीको मनसाय पार्टी अलगअलग जाने भन्ने रहेको ब्रिफिङ गरेको विषय बाहिरिएसँगै नेकपा विभाजन संघारमा पुगेको ठानिएको छ ।

महासचिव विष्णु पौडेलले आइतबार नै सामाजिक सञ्जालमार्फत पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको बताएका थिए । महासचिवको यस्तो अभिव्यक्तिलाई पार्टीमा विवादको चरम सीमा मानिएको छ ।

पार्टी महासचिव तथा अप्ठ्यारोमा ओलीका रक्षाकवच भएपनि विवाद तथा शक्ति सन्तुलन मिलाउन यसअघि केही हदसम्म सफल देखिएका पौडेलले विद्युतीय सामाजिक सञ्जालमा व्यक्त गरेका चिन्ताले नेकपाभित्र केही हुँदैछ भन्ने लगभग अनुमान गर्न सकिन्छ । त्यसपछि पनि साँझसम्म एकपछि अर्को गर्दै पार्टीको विवाद र अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति शीर्ष नेताहरूको चिन्ता जनाइरहेका छन् । 

नेकपामा यसअघि पनि यसैगरी विवाद चर्किएको थियो । भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पुरानो विवाद नदोहोर्‍याउने र चैतमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय विपरीत शीर्ष नेताहरू फेरि आरोप-प्रत्यारोप, विवाद र गुटगत भेलामा लागेका छन् ।

नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पुनः पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको चर्चासमेत खुमलटारको भेलामा भएको एक नेताले बताएका छन् ।

प्रतिकृया दिनुहोस