आज नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सानेपामा १ बजे बस्दै

Nepali congress bilding

काठमाडौं । पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक दिउँसो बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने छन् ।

आजको बैठकमा गत असोज १२ गते वरिष्ठ नेता रामचन्द्र पौडेलसहित​ महामन्त्री डा. शशांक कोइराला लगायतका २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेर ‘पार्टी विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सृजना गरियोस्’ भनेर दर्ता गरेको विरोध पत्रमाथि छलफल हुनेछ ।

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशनन तालिका सार्वजनिक गरे पनि कोरोना भाइरस सङ्क्रमणका कारण महाधिवेशन तालिका प्रभावित भइसकेको छ ।

नियमित कार्यकाल सकिएर अघिल्लो वर्षको फागुनबाट आगामी फागुनसम्मका लागि एक वर्षे कार्यकाल लम्ब्याएका सभापति देउवाले अब पुनः ६ महिना कार्यकाल थप्ने तयारी थालेका छन् ।

कांग्रेसको विधान अनुसार देउवाले अब आगामी भदौभित्र महाधिवेशन गराउनैपर्ने व्यवस्था छ । आगामी भदौसम्म पनि महाधिवेशन नगराए देउवा नेतृत्वको कांग्रेस केन्द्रीय समिति स्वतः खारेज हुनेछ ।

देउवाले महाधिवेशन प्रभावित पार्न विभागलगायतका मनोनयन जारी राखेकोमा पौडेल पक्षका नेताले असन्तुष्टि राख्दै आएका छन् । ४७ विभागमध्ये देउवाले २० बढीमा संयोजकसहित सदस्यमा एकलौटी मनोनित गरेका थिए ।

कांग्रेसमा अर्को विवादको विषय क्रियाशील सदस्यताको हो । देउवाले आफूखुसी क्रियाशील सदस्यता बाँडेको आरोप पौडेल पक्षको छ ।

 

 

प्रतिकृया दिनुहोस