बालुवाटारको ‘हार्डकोर’ छलफलले निम्त्यायो संकट : खुमलटार फुट रोक्ने प्रयासमा

‘अब भेडा भेडातिर र बाख्रा बाख्रासँग हुनुको विकल्प छैन’ : ओली

Kp vs 4 neta

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक राजनीति गम्भीर मोडमा पुगेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको टकरावले पार्टीलाई विभाजनको संघारमा धकेलेको छ ।

पार्टीभित्र आन्तरिक समस्या बल्झँदै गएपछि नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच कार्तिक ४ पछि प्रत्यक्ष भेटवार्ता भएको थिएन । त्यसलाई तोड्दै झण्डै ११ दिनपछि शनिबार दिउँसो दुई अध्यक्षबीच भेटवार्ता त भयो ।

तर उनीहरुबीच पार्टीभित्रको समस्या समाधान गर्ने विषयमा एकरुपता हुन सकेन । बरु अध्यक्ष प्रचण्ड र ओलीबीच भएको वार्ता ‘छुट्टाछुट्टै’ हुने भन्ने शन्देश बाहिरियो , जसले आम कार्यकर्तालाई निरास बनाइएको छ ।

खासगरी पछिल्लो समय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा ध्रुवीकृत नेकपाको राजनीति गम्भीर मोडमा पुगेको महासचिव विष्णु पौडेल स्वयम‍्ले सार्वजनिक रुपमै स्वीकार गरेका छन् ।

उनले एकीकृत नेकपाको अस्तित्व नै संकटमा परेको भन्दै जोगाउन नेता, कार्यकर्ता र सबै सदस्यहरुलाई अपील समेत गरेका छन् । हत्तपत्त पार्टीको आन्तरिक विषय सामाजिक सञ्जालमार्फत व्यक्त नगर्ने महासचिव पौडेलले आइतबार फेसबुक र ट्वीटरमा पार्टी फुटको संघारमा पुगेको आशयसहितको गम्भीर चिन्ता व्यक्त गरेपछि नेकपाभित्र केही न केही खिचडी पाकिरहेको छ भन्ने पुष्टि गरेको छ ।

यसअघि पनि पार्टीमा विवाद र असमझदारी बढेपछि पार्टी स्थायी कमिटीले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णयसँगै सहमति कायम भएको थियो । कार्यदलको प्रतिवेदनलाई आधार मान्दै सहमतिको प्रस्ताव तयार पार्न गत भदौ १८ गतेको सचिवालय बैठकले दुई अध्यक्षलाई जिम्मा दिएको थियो । यसबीचमा पार्टीभित्र फेरि असन्तुष्टि र असमझदारी बढ्दै गएको छ ।

एकता महाधिवेशनको तयारीका लागि छलफल गर्न भन्दै कार्तिक १५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पनि स्थगित गरी मंसिरमा गर्ने गरी तय गरीएको छ भने पार्टी एकीकरणका बाँकी काम पनि अघि बढ्न सकेका छैनन् । २०७७ साल चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय पार्टीले यस अघि नै गरिसकेको छ ।

२०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । यसबीचमा पार्टी एकतालाई पूर्णता दिन धैरै काम भए पनि एकताका कतिपय काम हुन बाँकी छन् । तर पार्टी एकता र सरकार सञ्चालनलाई प्रभावकारी बनाउँदै लैजाने सहमति भए पनि तिनको कार्यान्वयनमा नेतृत्व तहमा असमझदारी उत्पन्न हुँदा भने पार्टीमा समस्या बल्झिने गरेको छ ।

यसैबीच पार्टीभित्र चर्को अन्तरविरोध बढेपछि ओली र प्रचण्ड समूहले भावी रणनीतिका बारेमा बालुवाटार र खुमलटारमा आफू निकटका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् । आइतबार साँझ प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्डसहित ६ जना सचिवालय सदस्यहरु सहभागी थिए ।

जसमा प्रचण्डले ओलीसँग भएको संवादबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा प्रचण्डले ओलीले पार्टी अलग–अलग गरेर जाउँ भनेर गरेको प्रस्तावबारे अन्य सदस्यहरुलाई ब्रिफिङ गरेका थिए ।

त्यसक्रममा पार्टी नेताहरुले समेत बैठक राख्न माग गरेकाले ओलीसँग बैठक राखेर छलफल गर्न गरेको प्रस्तावमा ओलीले बैठक नराख्ने जवाफ दिएको नेताहरुलाई जानकारी गराएका थिए ।

ओलीको यस्तो भनाइपछि अध्यक्ष प्रचण्डले त्यस्तो बाटोमा जान नहुने जवाफ दिएका थिए । आइतबार बिहान मात्रै पनि ओलीले अध्यक्ष प्रचण्डलाई फोन गरेर कर्णालीका सन्दर्भमा पार्टी फुटाऔँ भनेको प्रचण्ड निकट एक नेताले जानकारी दिए ।

आइतबार खुमलटारमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुुर थापा ‘बादल’ सहभागी थिए । खुमलटारमा सहभागी सचिवालय सदस्यहरुको भेलाले पार्टी फुटाउन नहुने निष्कर्ष निकालेको छ ।

‘पार्टी कुनै हालतमा फुट्न दिनुहुँदैन । अहिलेको आन्दोलनको आवश्यकता, कार्यकर्ताको चाहना र जनताको जनादेश अनुरुप हामी जानुपर्छ त्यो फुट होइन’, खुमलटारमा भएको छलफलको निष्कर्ष रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘त्यसैले बैठकबाटै निष्कर्ष निकाल्ने र पार्टी एकता बचाउने अचुक अस्त्र पार्टी निर्णय सबैले मान्नुपर्ने निष्कर्ष निकालेका छौ’, श्रेष्ठको भनाइ छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीलाई कार्यकारी अध्यक्ष प्रचण्डले दुई अध्यक्षको संवादले मात्रै समस्याको निकास नआउने भन्दै सचिवालय बैठक बोलाउन र त्यही छलफल गर्न प्रस्ताव गरेका थिए । त्यसलगत्तै अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका ओलीले आफू निकटका हार्डकोर नेताहरुलाई बालुवाटार डाकेर अब पार्टी फुटबाट जोगिन नसक्ने भन्दै तयार रहन संकेत गरेका थिए ।

‘अब भेडा भेडातिर र बाख्रा बाख्रासँग हुनुको विकल्प छैन’, ओलीको संकेत थियो । आइतबार बिहान पनि बालुवाटारमा सोही समूहको बैठक बसेको थियो । जसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य पृथ्वी सुब्वा गुरुङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकारसमेत रहेका विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिति थियो ।

उक्त गोप्य भेटघाट र छलफलमा ओली पक्षले पूर्व माओवादी पक्षका केही नेताहरुलाई समेत राखेर कित्ता क्लियर गर्न भनेको थियो । गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’समेत उक्त गोप्य बैठकमा सहभागी भएको बालुवाटार स्रोतको दावी छ ।

‘आइतबार बिहान पनि प्रधानमन्त्री ओली निकट प्रायः सबै नेताहरु निवास छिर्नु भएको थियो । भित्र के–के कुरा भयो भन्ने त थाहा भएन तर, अन्तिमतिर महासचिव पौडेल पनि आइपुग्नुभएको बुझिएको छ’, बालुवाटार श्रोतले रातोपाटीलाई भन्यो, ‘कोर टिम बसेपछि औपचारिकताका लागि महासचिवलाई बोलाइएको हुनसक्छ ।’

यसबारेमा महासचिव पौडेललाई पटक–पटक फोन सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । गएको भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन,मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशको पार्टी विवाद र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखको नेपाल भ्रमणले ओली र प्रचण्डबीचको विवाद थप उत्कर्षमा पुगेको थियो । यो विवादमा प्रचण्ड पक्षलाई वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समेत साथ रहेको छ ।

प्रतिकृया दिनुहोस