यसकारण रोकियो कर्णालीमा मन्त्रिपरिषद बिस्तार, मन्त्रिपरिषद विस्तार अनिश्चित

७ जना प्रदेश सदस्यले कंडेलको साथ छाडेपछि...

Mahendra bahadur shahi

काठमाडौं । आज गर्ने भनिएको कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन रोकिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नगर्न निर्देशन दिएपछि मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठन नगरेका हुन् ।

आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन हिजो साँझ नै आग्रह गरेका थिए ।

तर, प्रधानमन्त्री ओली निकट मन्त्रीहरु दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने, बरु हटाए हट्ने अडान लिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी रोकिएको हो ।

७ जना प्रदेश सभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओली निकट यमलाल कंडेलको साथ छाडेपछि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नगर्न शाहीलाई निर्देशन दिएको बताइन्छ ।

अब कंडेलको पक्षमा जम्मा ४ जना प्रदेश सभा सदस्य र एकजना पूर्वमाओवादीका सदस्य बाँकी छन् । ४० सदस्यीय प्रदेशसभामा नेकपाका ३३ जना सदस्य छन् ।

ओली पक्षमा १३ जना, पूर्वमाओवादीका १२ जना र वरिष्ठ नेता माधवकुमार नेपाल निकट ८ जना सदस्य छन् । त्यसमध्ये ओली निकट एकजना निलम्वनमा छन् ।
नेता नेपाल पक्षका सात सांसद अविश्वासको प्रस्तावबाट पछि हटेपछि मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति गरेका छन् । सोही सहमतिअनुसार कुर्मराज शाही सचेतक नियुक्त भइसकेका छन् ।

ओली निकट यमलाल कँडेलको नेतृत्वमा नेकपाकै १८ सांसदले हस्ताक्षर गरी तयार भएको अविश्वासको प्रस्ताव अगाडि बढाउने गुलाबजंग शाहलाई प्रमुख सचेतकबाट बर्खास्त गर्दै मुख्यमन्त्री शाहीले सीता नेपालीलाई प्रमुख सचेतक नियुक्ति गरिसकेका छन् ।

तर, ओली–प्रचण्डले थप निर्णय नलिन निर्देशन दिएपछि मुख्यमन्त्री शाही आफूले गरेको सहमति कार्यान्वयन गर्नबाट रोकिएका थिए । कर्णालीका नेताहरुसँग छुट्टाछुट्टै बसेका ओली र प्रचण्ड बीच पनि विवाद हल गर्नेबारे सहमति नजुटेपछि मुख्यमन्त्री शाही अगाडि बढ्न खोजेका छन् ।

त्यसैअनुसार, सामाजिक विकास विकासमन्त्री रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढालाई राजीनामा गर्न मुख्यमन्त्री शाहीले आग्रह गरे । तर, प्रधानमन्त्री ओलीले राजीनामा नगर्न, बरु हटाए हट्न भनेपछि मन्त्री रावलले सामाजिक सञ्जाल मार्फत् मन्त्रालयबाट विदाइ हुने संकेत दिएका थिए । जुन फेसबुक स्टाटस उनले हटाइसकेका छन् ।

कसको पल्लाभारी छ संसदमा ?
नेकपाका ३३ जनामध्ये पूर्वमाओवादी समूहका १३, पूर्वएमालेमध्ये १२ जना अध्यक्ष केपी शर्मा ओली र ८ जना वरिष्ठ नेता माधव कुमार नेपाल निकट छन् । तर, समीकरण फेरबदल हुने सम्भावना बढेको छ ।

पूर्वमाओवादी समुह
महेन्द्रबहादुर शाही, नरेश भण्डारी, गोपाल शर्मा, रातो कामी, विमला केसी, गणेशप्रसाद सिंह, कृष्ण शाह आचार्य, विन्दमान विष्ट, थम्बरबहादुर विष्ट, विरहादुर शाही, सिताकुमारी नेपाली, पुष्पा घर्ती र धर्मराज रेग्मी छन् ।

त्यसमध्ये धर्मराज रेग्मी ओली निकट यमलाल कंडेल निकट छन् । थम्मरबहादुर विष्ट र पुष्पा घर्ती अविश्वासको प्रस्तावबाट पछि हट्दै शाहीकै पक्षमा पुगेका छन् ।

ओली समुह
यमलाल कँडेल, गुलावजंग शाह, दल रावल, नन्दबहादुर बुढा, राजु नेपाली, मिना रखाल, कौसी लावती खत्री, खड्गबहादुर खत्री, दानसिंह परियार र बद्नीकुमारी बोहोरा छन् ।

त्यसमध्ये राजबहादुर शाही सभामुख छन् भने खड्गबहादुर खत्री निलम्वनमा छन् । पदमबहादुर रोकाय खुलिसकेका छैनन् । रोकाय जुम्ला जिल्लाको राजनीतिमा माधव नेपाल समुहका भनेर चिनिन्छन् ।

यो समूहबाट ७ जनाले कंडेलको साथ छाडेका छन् । उनीहरुले ओलीको साथ भने नछाडेको बताएका छन् । त्यसमध्येका एक नेताले कंडेलकै कारण नेकपाभित्रको विवाद उत्कर्षमा पुगेकाले उनको साथ छाडिएको बताएका छन् ।

नेपाल समुह
प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, अम्बरबहादुर थापा, करवीर शाही, कुर्मराज शाही, देवी ओली, पद्मा खड्का र सुशील थापा छन् ।

प्रतिकृया दिनुहोस