बालुवाटारमा ओली–प्रचण्ड भेटवार्ता : के कुरामा भयो सहमति ?

Kp oli prachanda vet 15

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रको आन्तरिक विवाद सचिवालय बैठकबाट टु‌ग्याउन माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै २ घन्टासम्म पछिल्ला घटनाक्रमका विषयमा छलफल भएको छ ।

आज बालुवाटारमा भएको छलफलमा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन माग गर्दै पार्टीका सबै समस्या सचिवालय बैठकबाटै हल गर्नुपर्ने माग गरेका हुन् । यसमा प्रधानमन्त्री ओली सकारात्मक रहेको स्रोतको दाबी छ । यद्यपि बैठकको मिति भने तय भएको छैन ।

कर्णालीको विवाद, रअ प्रमुखको नेपाल भ्रमण, पर्सा घटना र कोरोना भाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ । यी विषयमा सचिवालय बैठकमा छलफल गर्ने सहमति भए पनि सचिवालय बैठक कहिले बोलाउने भन्ने विषयमा अन्यौलता देखिएको छ ।

प्रधानमन्त्री ओलीले विगतमा भएका सहमति कार्यान्वयन नगरेको भन्दै दुई अध्यक्षबीच ११ दिनदेखि भेटवार्ता भएको थिए । १२ दिनअघिदेखि अध्यक्षद्वय बीचको संवादहीनता शनिबार तोडिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछिको समाधानका विषयमा भनाभन भएपछि दुई अध्यक्षबीच संवादहीनता थियो । पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्ना दूत पठाएर भेटवार्ताका लागि आग्रह गरेका थिए ।

सचिवालय बैठक राख्न प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयलाई लिखित रुपमा माग गरिसकेका छन् । सचिवालयको बहुमतका नेताहरु तत्कालै सचिवालय बैठक राख्नुपर्ने पक्षमा छन् ।

प्रतिकृया दिनुहोस