११ दिनपछि बालुवाटार पुगे प्रचण्ड, संवादहीनता तोडिएपछि फैलियो तरंग

Kp oli prachanda vet

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ११ दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न प्रचण्ड शनिबार दिउँसो बालुवाटार पुगेसँगै संवादहीनता तोडिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछिको समाधानका विषयमा भनाभन भएपछि दुई अध्यक्षबीच संवादहीनता थियो । पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्ना दूत पठाएर भेटवार्ताका लागि आग्रह गरेका थिए ।

लगातार ओलीले वार्तामा बस्न आग्रह गरेपछि प्रचण्ड शनिबार अर्का अध्यक्षसँग भेटका लागि बालुवाटार पुगेका छन् । बालुवाटार जानु अगाडि प्रचण्डले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् ।

शुक्रबार मात्रै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली खुमलटार पुगेका थिए । त्यसअघि महाचिव बिष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए । तर, प्रचण्डले आफू कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेकाले बालुवाटार नजाने बताउँदै आएका थिए ।

मन्त्रिपरिषद् पुनर्गठन र हेरफेर, राजदूतको एकतर्फी नियुक्ति, कर्णाली प्रकरण र भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग प्रधानमन्त्रीको कुटनीतिक मर्यादा विपरितको भेटवार्ताका कारण नेकपाभित्रको विवाद उत्कर्षमा छ ।

प्रतिकृया दिनुहोस