नेकपाभित्रको आन्तरिक विवाद चुलिँदै, बाक्लियो ओली–नेपालको भेट

Oli nepal vet

काठमाडौं । सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टी लामो समयदेखि आन्तरिक द्धन्द्धमा फसेको छ । सत्तारुढ दलभित्रको आन्तरिक द्धन्द्धका कारण सरकार सञ्चालनमा समेत प्रत्यक्ष प्रभाव परेको छ ।

कोरोना कहरले देशको आर्थिक अवस्था नै डामाडोल बनेका बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सरकार टिकाउन कहिले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कहिले बरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउनैमा व्यस्त देखिन्छन् ।

पछिल्लोपटक कार्यकारी अध्यक्ष प्रचण्डसँग नेपालको सहकार्य अगाडि बढ्न थालेपछि प्रधानमन्त्री ओलीले उनलाई समदूरीमा राखेर नयाँ शिराबाट सहकार्य गर्ने कोसिस अगाडि बढाएका छन्  । नेपालले पार्टी कमिटीमा आफ्ना मुद्दा संस्थागत रूपमा राख्दै आएका छन्  ।

पछिल्ला केही समययता अध्यक्षद्धय ओली र प्रचण्डबीच संवाद ठप्प छ । एकअर्काबीच आरोप प्रत्यारोपमै १० दिन बितिसकेको छ । यही बेला प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटार बोलाएर बरिष्ठ नेता नेपालसँग एक हप्ताकै बीचमा दुईपटक भेट गरिसकेका छन् । भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग विवादित भेट गरेपछि प्रधानमन्त्री ओलीले पहिलोपटक नेपालसँग लामो संवाद गरे ।

त्यसअगाडि ओलीले ‘रअ’ प्रमुखको नेपाल भ्रमणको अघिल्लो दिन ४ कात्तिकमा नेता नेपालसँग भेट गरेका थिए । कूटनीतिक र राजनीतिक मर्यादाविपरीत प्रधानमन्त्रीले ‘रअ’ प्रमुख गोयलसँग भेट गरेकोमा नेकपाभित्रै आलोचना छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जानकारीविनै ‘रअ’ प्रमुखको नेपाल भ्रमण भएको र प्रधानमन्त्री ओलीसँग भेट भएको बताइसकेका छन् ।

स्थायी कमिटीका निर्णय कार्यान्वयनलाई लिएर ओली र प्रचण्डबीच मनमुटाव देखिएको छ  । कर्णाली प्रदेशको समस्या समाधानबारे ओली र प्रचण्डले बेग्ला–बेग्लै सर्कुलर जारी गरेपछि त्यहाँको विवाद थप जटिल बनेको र प्रचण्ड–नेपाल समूहबीच बढ्दो सहकार्य समीकरणकै रूपमा कार्यान्वयन हुने सम्भावना बढिरहेकै बीचमा कतिपयले नेपाललाई बालुवाटार बोलाएर सहकार्यका लागि फकाउने कोसिसमा छन् ।

नेकपाभित्र मूलतः अध्यक्ष ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालको तीन समूह छ । पूर्वमाओवादीभित्रको प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को बेग्लै समूह रहे पनि नेकपाभित्र नेपाल समूह सबैजसो निर्णयमा प्रभाव राख्ने पोजिसनमा छ ।

नेपाल समूह प्रचण्ड पक्षसँग मिल्दा गत ११ साउनमा बालुवाटारमा स्थायी कमिटीको बहुमत सदस्यको बैठक भएको थियो भने कर्णाली प्रदेशमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावबाट नेपाल समूह फिर्ता भएपछि उनको कुर्सी जोगिएको छ । केन्द्रीय कमिटीमा नेपाल समूहको एक सय १५ सदस्य छन् भने स्थायी कमिटीमा १२ नेता छन् ।

संघको प्रतिनिधिसभाको संसदीय दलमा वरिष्ठ नेता नेपाल र झलनाथ खनालनिकट करिब ४५ सांसद छन् । सातमध्ये ६ वटा प्रदेशमा नेकपाको सरकार रहेकोमा बागमती, प्रदेश १ र कर्णाली प्रदेशमा ओली समूहकै हाराहारीमा नेपालनिकट प्रदेश सांसद छन् । केन्द्र र प्रदेशमा नेपाल समूहले दायाँबायाँ गरेको अवस्थामा सरकारको नेतृत्व नै परिवर्तन हुनसक्ने अवस्था पनि छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अविश्वास र दूरी बढिरहेका वेला प्रधानमन्त्री ओलीले नेकपाभित्र अंकगणितमा निर्णायक भूमिकामा रहेको समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता नेपालसँग सहकार्यको कोसिस अगाडि बढाएको हुनसक्ने धेरैको विष्लेषण छ ।

ओली–नेपाल बीचको पछिल्लो भेटवार्तालाई कुनै विशेष अर्थका रूपमा नभई सामान्य रूपमा मात्र बुझ्नुपर्ने ओलीनिकट मानिने नेकपा संसदीय दलका उपनेतासमेत रहेका सुवास नेम्वाङ बताउँछन् । उनले शीर्ष तहका नेताहरूबीचको भेटघाट आवश्यकताअनुसार आपसी परामर्शका लागि हुने भएकाले दुई अध्यक्षलाई अरू नेताहरूसँगको छलफलको जानकारी हुने गरेको दाबीसमेत गरे ।

प्रतिकृया दिनुहोस