एक महिना पछि सर्‍यो नेकपाको केन्द्रीय कमिटी बैठक

Nekapa kendriya baithak

काठमाडौं । कात्तिक १५ गते बस्ने भनिएको सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक बढ्दो कोरोना संक्रमणका कारण एक महिना पछि सरेको छ ।

कार्तिक १५ गतेका लागि तय भएको बैठक मंसिर १५ गतेसम्मका लागि सरेको सर्कुलर केन्द्रीय सदस्यहरूलाई गरिएको छ ।

बुधबार नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरि केन्द्रीय कमिटी बैठक सारिएको बताएका छन् । विज्ञप्तिमा कोरोनाका कारण र तयारी नपुगेकाले बैठक सारिएको जनाएको छ ।

महाधिवेशनको तयारीका लागि कार्तिक १५ गतेदेखि बस्ने भनिएको बैठक कोरोना भाइरसको संक्रमण र अन्य तयारी पूरा नभएकाले सरेको हो । केन्द्रीय कमिटी बैठकबारे प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक सर्नेबारे बुधबार बिहानदेखि छलफल भएको बताएका थिए । उनले बैठकको अर्को मिति कहिले तय गर्ने भन्नेबारेमा छलफल भइरहेको बताएका थिए ।

सचिवालय सदस्यहरूसँगको परामर्शपछि बैठकको नयाँ मिति तय गरिएको हो । नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले केन्द्रीय सदस्यहरूलाई बैठक सरेको बारे जानकारी पठाएका हुन् ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको २०७७ कार्तिक १५ गतेदेखि आयोजना गरिएको तेश्रो पूर्ण बैठक कोभिड –१९ महामारीका कारण स्थगित गरिएको छ । उक्त बैठक आगामी मंसिर १५–१७ मा आयोजना हुने जानकारी गराइन्छ’ केन्द्रीय सदस्यहरूलाई पठाइएको जानकारीमा भनिएको छ’ केन्द्रीय सदस्यहरूलाई पठाइएको जानकारीमा भनिएको छ ।

भदौ २६ गते सम्पन्न नेकपा स्थायी समिति बैठकले आगामी चैत २५ गतेदेखि सुरु हुने भनिएको महाधिवेशनको तयारीका लागि कात्तिक १५ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरेको थियो ।

केन्द्रीय कमिटी बैठक अघि पार्टी एकताका सबै काम सम्पन्न गर्ने घोषणा गरिएको भएपनि अधुरै रहेका छन् । यसको असर नेकपा महाधिवशेनमा पनि पर्ने भएको छ । यसअघि नेकपा केन्द्रीय कमिटी बैठक गत माघमा बसेको थियो ।

प्रतिकृया दिनुहोस