विमानस्थलमा नवजात शिशु फेला परेपछि मच्चियो हंगामा

Airpor doha

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलमा नवजात शिशु फेला परेपछि विमानमा यात्राका लागि पुगेका महिलामा आन्तरिक जाँच सुरु गरिएको छ । यो कतारको दोहा विमानस्थलको समाचार हो ।

दोहाबाट सिड्नी प्रस्थान गर्न लागेका महिलाहरूको निजी परीक्षण गर्न लगाइएको भन्ने समाचार आएपछि अस्ट्रेलियाले त्यसप्रति ‘गम्भीर चासो’ व्यक्त गरेको छ ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा कर्मचारीहरूले एउटा नवजात शिशु फेला पारेपछि महिलाहरूको परीक्षण गर्न लगाइएको छ ।

शिशु कसको हो भन्ने खुलेको छैन र अहिले सुरक्षित तरिकाले राखिएको छ। परीक्षण गरिनेमा १३ जना अस्ट्रेलियाली महिला पनि रहेको बताइएको छ।

मन्त्रालयको चासो
च्यानल सेभेनले लेखे अनुसार ती अस्ट्रेलियाली महिलाहरूलाई विमानस्थलस्थित एम्बुलेन्स भएको ठाउँमा लगिएको थियो र परीक्षण गर्नुअघि भित्रि वस्त्र खोल्न लगाइएको थियो ।

अक्टोबर २ तारिखमा कतार एअरवेजको विमान उड्नुअघि किन परीक्षण गरिएको भनेर ती महिलाहरूलाई बताइएको थिएन। अस्ट्रेलियाको सरकारले त्यस विषयमा कतारका अधिकारीहरूसँग चासो व्यक्त गरेको छ ।

‘उक्त घटनाबारे कतारी अधिकारीहरूसँग हामीले आधिकारिक रुपमा गम्भीर चासो व्यक्त गरेका छौं र उनीहरूले हामीलाई विस्तृत र पारदर्शी सूचना छिट्टै दिने आश्वासन दिएका छन्,’ अस्ट्रेलियाको विदेशमामिला मन्त्रालयका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन् ।

मनोवैज्ञानिक सहायता
सिड्नी पुग्नेहरूका लागि क्वारन्टीन बस्ने होटलको व्यवस्थापन हेर्ने न्यू साउथ वेल्स प्रहरीका प्रवक्ताले घटनाबारे भने, ‘ती महिलाहरू न्यू साउथ वेल्समा बाध्यकारी क्वारन्टीनमा बसे र त्यतिबेला उनीहरूलाई यहाँको एनएसडब्लू हेल्थले चिकित्सकीय र मनोवैज्ञानिक सहायता गरेको थियो ।’

त्यसबारेमा टिप्पणीका लागि गरिएको निवेदनमा कतार एअरवेजले कुनै प्रतिक्रिया जनाएको छैन ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ताले भनेकी छन्, ‘भर्खरै बच्चा जन्माएकी आमाको स्वास्थ्यबारे स्वास्थ्यकर्मीहरूले चासो व्यक्त गरेका थिए र विमान प्रस्थान गर्नु अघिनै उनलाई खोज्न अनुरोध गरिएको थियो ।’

विमानस्थलले आमाको खोजी गरिरहेको छ र त्यसैबीच फेला परेका शिशुको रेखदेख सामाजिक कार्यकर्ता र स्वास्थ्यकर्मीको टोलीले गरिरहेको छ ।

बिबिसीबाट 

प्रतिकृया दिनुहोस