मिलेन नेकपामा कर्णाली प्रदेशको लफडा, पत्रमार्फत भयो ओली र प्रचण्डको मनमुटाव छताछुल्ल

Kp oli prachanda badhyo duri

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद भुसको आगो झै सल्किरुहेको छ । त्यसमा पनि कर्णाली प्रदेशको पछिल्लो विवादले नेकपालाई अत्यन्तै कठिनमा मोडमा पुर्याइदिएको छ ।

शुक्रबार मात्रै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविस्वासको प्रस्ताव अस्वीकृत भएसँगै नेकपाभित्रको किचलो झनै बढ्ने संकेत देखिएको छ । किनकी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फरकफरक शक्ति प्रयोग गर्न खोजेसँगै शक्ति बाडफाडमा अल्झन देखिएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेर निवर्तमान प्रमुख सचेतक गुलाबजंग शाहलाई पूर्वपदमा कायम राख्न निर्देशन दिएपछि ‘प्रचण्ड’ ले पार्टी इन्चार्जलाई नै पत्राचार गरेका छन् ।

प्रचण्डले पत्रको बोधार्थ सहइन्चार्जत्रय यमलाल कंडेल, प्रकाश ज्वाला र कालीबहादुर मल्ल, नेकपा प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मालाई दिइएको छ । प्रदेश कमिटी इन्चार्ज भने स्थायी कमिटी सदस्य जनार्दन शर्मा रहेका छन् ।

पत्रमा लफडा
शुक्रबार प्रचण्डले लेखेको पत्रमा ‘हामी दुई अध्यक्षहरुबीच कार्तिक ४ गते मंगलबार बिहान प्रधानमनत्री निवास बालुवाटारमा भएको घेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भई अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको थियो । यो समझदारी र हाम्रो दलको प्रदेशसभा सदस्यको भावना र मर्म अनुसार कार्यान्वयन गर्न निर्देशन गर्दछु’ भनिएको छ ।

‘ओलीको पत्रमा भनिएको छ, ‘अनुशासित तरिकाले प्रमुख सचेतकको जिम्मेवारीमा रहनु भएको र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेकपा प्रदेश सभा दल कर्णालीका प्रमुख सचेतक श्री गुलाबजंग शाहमाथि तपाईँले गरेको कारबाही फिर्ता लिन र उहाँलाई पूर्ववत् प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओली निकट यामलाल कंडेलसहितका १८ जना सांसदले शाहीविरुद्ध असोज २५ गते संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ३३ जना सांसदमध्ये २२ जना आफ्नो पक्षमा रहेको शाहीले बताएका छन् । आजको संसदीय दलको बैठकमा पूर्वमाओवादीका १० र नेपाल समूहका ८ जनागरी १८ जना सांसद सहभागी थिए ।

नेकपाका ३३ जनामध्ये पूर्वमाओवादी समूहका १३, पूर्वएमालेमध्ये १२ जना अध्यक्ष केपी शर्मा ओली र ८ जना वरिष्ठ नेता माधव कुमार नेपाल निकट छन् । पछिल्लो अवस्थामा समीकरण फेरिएको देखिएको छ ।

को बलियो ?
पूर्वमाओवादी समुहमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही, नरेश भण्डारी, गोपाल शर्मा, रातो कामी, विमला केसी, गणेशप्रसाद सिंह, कृष्ण शाह आचार्य, विन्दमान विष्ट, थम्बरबहादुर विष्ट, विरहादुर शाही, सिताकुमारी नेपाली, पुष्पा घर्ती र धर्मराज रेग्मी छन् ।

त्यसमध्ये धर्मराज रेग्मी र थम्मरबहादुर विष्ट संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहीविरुद्ध उभिएका छन् । पहिले शाहीविरुद्ध लागेकी घर्ती अहिले शाहीको पक्षमा फर्किएकी छन् ।

ओली समुहमा यमलाल कँडेल, गुलावजंग शाह,दल रावल, पर्यटन नन्दबहादुर बुढा, राजु नेपाली, मिना रखाल, कौसी लावती खत्री, खड्गबहादुर खत्री,दानसिंह परियार र बद्नीकुमारी बोहोरा छन् ।

त्यसमध्ये सभामुख राजबहादुर शाहीले मत दिन पाउदैनन् । त्यस्तै पदम बहादुर रोकाय खुलिसकेका छैनन् । रोकाय जुम्ला जिल्लाको राजनीतिमा माधव नेपाल समुहका भनेर चिनिन्छन् । खड्गबहादुर खत्री भने निलम्वनमा परेका छन् ।

नेपाल समुहमा प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, अम्बरबहादुर थापा,करवीर शाही, कुर्मराज शाही, देवी ओली, पद्मा खड्का र सुशील थापा छन् ।

प्रतिकृया दिनुहोस