नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधन

Thumb

काठमाडौँ । कांग्रेसका पूर्व कोषाध्यक्ष एवं समाजसेवी रामबाबु प्रसाई (खनुरुदे प्रसाई) को शुक्रबार निधन भएको छ ।
पार्टीको स्थापनाकालदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका ९९ वर्षीय प्रसाई सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा पार्टीका कोषाध्यक्ष थिए ।
काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो साढे एक बजे निधन भएको हो । प्रसाईं श्वासप्रश्वासमा समस्या आएपछि ६ दिनअघि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

१९७८ को माघ १५ मा जन्मिएका उनी स्वर्गीय कृष्णप्रसाद भट्टराई सभापति हुँदा विसं २०४८ को आठौं महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष भएका थिए । त्यसअघि २०४४ मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत थिए ।

प्रसाईं पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित भएका थिए । विसं २०३३ कात्तिक १६ गते मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै प्रसाइँ निर्वासनबाट स्वदेश फर्किएका थिए ।

विसं २०१५ को प्रथम आमनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनी झापामा स्वतन्त्र उम्मेद्वार बने । त्यसबेला कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग उनी पराजित भए । पछिल्लो समय भने उनले नेपाली कांग्रेस परित्याग गरेका थिए । कांग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटातिर लागेको भन्दै उनले पार्टी छोडेका थिए ।

प्रसाईको निधनप्रति कांग्रेस केन्द्रय कार्यसमितिले दुःख प्रकट गरेको छ । लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय योगदान पुर्‍याएको स्मरण गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रसाई नेपालको राजनीतिमा अलग पहिचान भएका सत्यवादी नेता भएको उल्लेख गरेका छन् ।

सभापति देउवाले  शोक विज्ञप्तिमार्फत अग्रज समाजसेवी र  सत्यवादी नेताका रुपमा आफ्नो बेग्लै पहिचान बनाउनुभएका पूर्वकोषाध्यक्ष प्रसाईँको निधनको खबरले आफूलाई दुःखित बनाएको उल्लेख गरेका छन् । सभापति देउवाले श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि छुट्टै विज्ञप्ति जारी गर्दै प्रसाई अटल शिद्धान्तवादी नेता रहेको उल्लेख गरेका छन् । ‘पार्टीको स्थापनाकालदेखि निरन्तर पार्टीको सिद्धान्तलाई साकार रुप दिने अविचल यात्रामा उहाँले आफ्नो सारा जीवन समर्पण गर्नुभयो’ पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ,‘पटक–पटका जेल यात्रा, निर्वासन र प्रतिबन्धित जीवनयापन गर्दै लामो र कठीन यात्रा पार गर्नुभएका रामबाबु प्रसाईको दृढ निश्चयी स्वभाव हामी सबैका लागि अनुकरणीय छ ।

प्रतिकृया दिनुहोस