१२ वर्षीय बालिका हत्या प्रकरण : मष्टा गाउँ, जहाँ सम्झनाका सपनाहरु तुहिए (स्थलगत रिपोर्ट )

Samjhana kami bajhang hatya prakaran

खिकाला (बझाङ) । बझाङको मष्टा गाउँपालिका वडा नं.२, खिकालाकी सम्झना कामी १२ वर्षकी मात्र भएकी थिइन् । गाउँमा उनी कसैसँग नबोल्ने, सोझी थिइन् । तर दुर्भाग्य उनीमाथि नै दैव खनियो ।

गाउँकै राजेन्द्र बोहोराले राक्षस बनेर उनको इज्जत लुटे । यतिमै टुंगिएन, इज्जत लुटेर हत्यासमेत गरे । असोज ६ गते, गाउँकी एक नाबालिका, जसको सुन्दर भविश्य चकनाचुर भएको दिन थियो ।

सम्झनाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा देश तातेको छ । देशभरका अधिकारकर्मीहरु आन्दोलित भएका छन् । यतिसम्मकी सम्झनाको हत्या प्रकरणपछि बलात्कारीलाई मृत्युदण्डको सजायको माग पनि उठ्न थालेको छ ।

सम्झनाको निर्मम हत्यामा संलग्न बोहोरालाई प्रहरीले सार्वजनिक पनि गरिसकेको छ । तर, कयौं सम्झनाहरुले न्याय पाउने कुरामा शंका उत्पन्न भइरहेको छ । कतै सम्झनाको न्याय पनि कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको जस्तै त हुँदैन भन्ने आशंकाहरु जन्मिएका छन् ।

प्रहरीले सम्झनाको बलात्कारपछि हत्यामा संलग्न रहेका बोहोरालाई सार्वजनिक गरे पनि अहिलेसम्म उनले स्वीकार गरेका छैनन् । बोहोराले अहिलेसम्म चुसम्म पनि बोलेका छैनन् । उनले स्वीकार नगरेपछि घटना अन्तै मोडिन्छ की भनेर देशभर खवरदारी भइरहेको छ ।

किन केही बोल्दैनन् गाउँले ?
खिकाला गाउँ पूरै शोकमा डुबेको छ, सिंगो गाउँ नै शोकाकुल बनेको छ । गाउँका शोकमा गाउँले त्रसित छन्, सबैको आँखामा आँसु छछल्किन्छ । सम्झनाको कुरा हुनेवित्तिकै सबैको आँखा रसाउँछन् ।

थलगत रिपोर्टिङमा सम्झनाको गाउँ पुग्दा सम्झनाको शोकमा सबै जना रुँदै थिए । तर, हत्याको विषयमा मुख खोल्न डराइरहेका थिए । आखिर यो विषयमा गाउँले किन बोल्न डराइरहेका छन् ?

सुरुमा त सायद दुःख र शोकले गर्दा गाउँले केही बोल्न नसकेका होलान् भन्ने लागेको थियो । तर परिस्थिती अर्कै रहेछ । हत्यारा को हुन सक्छ ? समातिएका बोहोरा नै संलग्न छन् की अनेक प्रश्न उठ्यो । सबै मौन रहे । मानौ उनीहरुले हत्याराको बिषयमा केही शब्द बोल्नु पनि अपराध हुनेछ ।

चुपचाप रहेको भीडमा रोइरहेको आवाज आयो । त्यसरी रुने सम्झनाकी फुपु लक्ष्मी कामी रहिछन् । उनले आँसुसरी हुँदै सम्झनाको दिनचर्याको बेली विस्तार लगाइन् ।

‘सधैं गोरु चराउन सबै त्यही घटना स्थलको नजिकै रहेको चौरमा लाथ्यौं । त्यो दिन वारी नै गोरु चरायौं । घास काट्न मै जान्थे तर मेरो हात काट्यो’ उनले भनिन्, ‘आमाले म जान्छु भन्दै हुनुहुन्थ्यो । तर उ (सम्झना) ले हैन म आफैं जान्छु भनेर गइँ । आमाले उसलाई खोला तरेर पारी उकालोसम्म गएको देख्नु भाथ्यो । तर त्यसपछि कसरी यस्तो भयो थाहा नै भएन ।’

उनले जो भए पनि सम्झनाको हत्यामा संलग्न रहेकालाई कारवाही गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘की उसलाई पनि यसरी नै मारिदिनुपर्छ ।’ अर्की स्थानीय सुना दमाइले पनि हत्यारालाई जेलमा राखेर नपुग्ने भएकाले फाँसी दिनुपर्ने माग अघि सारिन् ।

यसरी भेटियो सम्झनाको शव
असोज ६ गते गोरुलाई घाँस काट्न गएकी थिइन् सम्झना । राती अबेरसम्म पनि घर नआएपछि आफन्तले खोजी गर्न थाले । खोजी गर्ने क्रममा शिव मन्दिर नजिकै राती ८ः३० बजे हत्या गरिएको अवस्थामा सम्झनाको शव भेटियो ।

सम्झनाको बलात्कारपछि हत्या भएको ठाउँ जंगलको बीचमा पर्छ । सम्झनाको शव भेटिएको स्थान र घर सिधार वारीपारी छ । सम्झनाको घरबाट करीब ५ मिनेट ओरालो झरेर नदि (साघु) तरेपछि १० मिनेट उकालो हिड्दा घटनास्थलमा पुगिन्छ । छाना जाने बाटो र मन्दिर जाने बाटो जंगल सुरु भएपछि सानो खोल्से खोलाले छुट्याएको छ ।

घटना स्थलको प्रकृति हेर्दा बालिकालाई कोरेली जाने बाटोमा खोल्सो परेको स्थानबाट उठाएर मन्दिरभित्र लिएर गएको देखिन्छ । सम्झनाले बोकेको डोको, नाम्लो र आसी बीच बाटोमा फालिएको छ ।

मन्दिरको अर्को छेउमा पनि खोल्सोबाट सानो नदी बगेको छ । हत्या भएको ठाउँमा मन्दिर निर्माणका कार्यहरु भइरहेकाले काममा आवश्यक पर्ने काठ र औजारहरु यत्रतत्र छरिएका छन् । सम्झनाको शव टिनले छाएको मन्दिरभित्र भेटिएको थियो । घटनास्थलको अवस्था हेर्दा सम्झनाले आफुलाई बचाउन प्रयास गरेका देखिन्छ । तर दुर्भाग्य उनले आफुलाई बचाउन सकिनन् ।

विछिप्त छन् परिवारका सदस्य
सम्झनाको हत्यापछि सिंगो गाउँ नै पीडामा परेको छ । भारतको बेंग्लोरबाट आएका सम्झनाका बुवा विकास कामीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

घटना थाहा पाउनेबित्तिकै श्रीमती र दुई छोराछोरी भारतमै छोडेर आएका विकास विक्षिप्त अवस्थामा छन् । पीडै पीडामा पनि उनी सदरमुकाम चैनपुरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

उनीहरु न्यायको पखाईमा छन् । सम्झनाको विभत्स हत्यामा संलग्नलाई कारवाही भएको हेर्न चाहन्छन् परिवारका सदस्य । गाउँलेहरु पनि सम्झनाको हत्यामा संलग्नलाई कारवाही गरिए गाउँमा शान्ति मिल्ने आसामा छन् ।

यसकारण बोहोरा शंकाको घेरामा
सम्झनाको बलात्कारपछिको हत्यामा संलग्न भनिएका बोहोराको बानी बेहोरा गाउँमा ठिक थिएन । उनी चोरीमा संलग्न थिए । राजेन्द्रकी आमा लक्षुदेवीले पनि आफ्नो छोराले गाउँ घरमा चोरी गर्ने गरेको स्वीकार्छिन् ।

उनी गाउँमा गुडागर्दी गर्थे भने सबैको घरमा चोरी गर्ने, दलित बस्तिका बच्चाहरुको नास्ताको लागि दिइएको पैसा लुट्ने र नदिए कुट्ने गर्थे भने ज्यान मार्नेसम्मको धम्की दिने गर्थे । सो दिन पनि राजेन्द्रले सम्झनाको मुन्द्रा मागेका थिए ।

यसअघि पनि भदौमा घट्ट गएको बेला १४ वर्षीय दलित बालिकालाई राजेन्द्रले बलात्कार गरेको खुलेको छ । यो घटना ५ सय रुपैयाँ दिएर गाउँमै मिलाइएको थियो । यसरी हेर्दा राजेन्द्रको पृष्ठभुमी खराव देखिन्छ । तर उनले अहिलेसम्म प्रहरीसँगको बयानमा चुसम्म पनि बोलेका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...