जितिया पर्वले सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन उत्प्रेरणा प्रदान गरोसः राष्ट्रपति

Bidya bhandari 29

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेकी छन् ।

जितिया पर्वका अवसरमा शुभकामना सन्दैश दिँदै राष्ट्रपतिले यस्ता सांस्कृतिक पर्वले परिवार र समुदायका सदस्यबीच आपसी प्रेम‚ विश्वास‚ सद्भाव र सहयोगको भावनालाई प्रगाढ बनाउनाका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भूगोलका सम्पूर्ण नेपालीबीचमा समेत परस्पर सद्भाव‚सहिष्णुता‚समझदारी र ऐक्यबद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

नेपालमा मनाइने यस किसिमका चाडपर्वले विशिष्ट सांस्कृतिक पहिचान र सभ्यतालाई उजागर गरेको जनाउँदै राष्ट्रपतिले यी चाडपर्व मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित विभेदजन्य अभ्यास एवं अव्यावहारिक पक्षलाई समयसापेक्ष सुधारसमेत गर्दै जानुपर्ने विचार पनि व्यक्त गरे ।

जितिया पर्वले महिलाविरुद्ध थोपरिएका सबै प्रकारका विभेद‚ असमानता र हिंसालाई अन्त्य गर्दै समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई उत्प्रेरणा र उत्साह प्रदान गरोस् भनी उनले शुभकामना व्यक्त गरिन् ।

‘जिमुतवाहनव्रत’समेत भनिने जितिया पर्व प्रत्येक वर्ष आश्विनकृष्ण पक्षको अष्टमी तिथिको दिन तराई क्षेत्रका मैथिल तथा थारु महिलाले आफ्ना सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोकदेवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा छ ।

प्रतिकृया दिनुहोस