‘कोरोनाकालमा कसैले पनि जात, पार्टी र वर्गको कुरा पनि गरेनन्’

Chiring rapke lama nishannews

घ्यालसुम्दो सेवा संस्था न्यूयोर्कका पूर्व अध्यक्ष हुन् छिरिङ राप्के लामा । मनाङको साविकको थोँचे गाविस वडा नं. ९ (हाल नासोँङ गाउँपालिका वडा नं. ५) मा २०२४ सालमा जन्मिएका लामा सानै उमेरदेखि सामाजिक काममा रुची राख्थे । बुबा आच्युङ लामा र आमा पासाङ ल्हमोका सन्तान छिरिङ राप्के लामा अमेरिका प्रवेश गरेकै एक दशक भइसक्यो । उनी सन् २०१५–०१७ सम्म एनआरएनको आइसीसी सदस्य थिए । नेपाल आदीवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को संघीय परिषदको सदस्य सचिवसमेत रहेका लामा जिपी कोइराला फाउण्डेसनको केन्द्रिय सदस्य हुन् । यति मात्रै होइन, अमेरिकामा रहेका धेरै वटा संस्थामा रहेर उनी सामाजिक काममा व्यस्त रहन्छन् । अमेरिकामा बसेर सामाजिक काम गर्न कत्तिको कठिनाई छ ? आदी विषयमा निशान न्युजका लागि गोपाल बराइलीले गरेको कुराकानीको सम्पादित अंश ।

यतिवेला विश्व कोरोनाको मारमा रहेका बेला अमेरिकामा त्रास उस्तै छ । नेपालीहरुको अवस्था के छ ?
अमेरिकाका केही राज्यहरुमा कोभिड –१९ को महामारी तीव्र रुप फैलिरहेको छ । अरु राज्यको तुलनामा न्युयोर्कको जनजीवन अहिले सामान्य जस्तै बनेको छ । हुन त म बसेको राज्यको न्युयोर्क शहर पहिले अमेरिकाकै एउटा इपिसेन्टर नै थियो । विगतको तुलनामा यहाँको जनजीवन सामान्य जस्तै बनिसकेको छ । तर, पनि त्रास उस्तै छ । अझैं पनि माक्स लगार हिड्नुपर्ने बाध्यता यथावत छ । व्यक्तिगत (सामाजिक) दुरी कायम गर्दै आफ्ना कामकाजहरु सञ्चालन गरिरहेको अवस्था छ । अहिले नेपालीहरुको अवस्था पनि सामान्य बन्दै गइरहेको छ । यहाँ अहिले संक्रमितको संख्या बढेको देखिँदैन । त्यस्तो विकराल स्थिति चाँही छैन । तैपनि अझैं धेरै सजग र सतर्क रहन भने जरुरी छ ।

कोरोनाको कहर शुरु भएयता सामाजिक काममा निक्कै व्यस्त हुनुभयो । किन यसरी खटिरहनु भएको छ ?
सामाजिक कार्य भनेको यतिकै देखावटी रुपमा गरिने काम होइन । यो त भित्री मनदेखि नै जागेर आउने कुरा हो । मेरो व्यक्तिगत सवालमा भन्ने हो भने म सानैदेखि सामाजिक सेवामा रुची राख्ने गर्थे । त्यसैले नेपालमा रहदाँ वा प्रवासमा रहदाँ होस्, आफ्नो बुद्धि, विवेक र समयले साथ दिएसम्म सामाजिक काम गर्दै आएको छु । यही क्रममा विश्वलाई कोरोना संक्रमणले त्राही–त्राही बनायो । कोरोना संक्रमण बढ्न थालेपछि सबैलाई समस्या पर्न थाल्यो । त्यसपछि न्युयोर्कमा बनेका सहयोग समितिहरु, कोरोना विरुद्धको सहयोग तथा सचेतना समुह, एनआरएन न्युयोर्क समुह, जनसम्पर्क समिति, नेपाल आदीवासी जनजाति महासंघ अमेरिका (फिप्ना), घ्यालसुम्दो कोभिड –१९ समुह, जिपी कोइराला फाउण्डेसन अमेरिका, अधिकार, अन्य विभिन्न जातीय, क्षेत्रीय सहयोग समुहसँग समन्वय गरी स्वयम् सेवक भएर सहयोग गर्दै आएको छु । जुन कार्य अझैं जारी पनि छ ।

सबै जना घरभित्रै थुनिएर बसेको बेला तपाई चाहीँ यसरी खुल्ला रुपमा सामाजिक काममा खटिदाँ कोरोना संक्रमणको डर भएन ?
डर त अवस्य नै भयो नि । आफ्नो ज्यानको माया सबैलाई लाग्छ होइन र ? तर पनि समय र परिस्थितिको मागअनुसार चल्नुपर्छ भन्ने मेरो बुझाई हो । यस्तो कोभिड –१९ को संक्रमणले विश्वव्यापी महामारीको रुप लिएर जनजीवन नै त्राही–त्राही बनाइरहेको यो कहाली लाग्दो अवस्थामा एक न एक जनाले समाजमा केही न केही गर्नै पर्ने हुन्छ । यस्तो बेला कसैले पनि हात बाँधेर बस्नुहुँदैन ।

विषम् परिस्थितीमा कसैले हात बाँधेर बस्छ भने तपाई हामीजस्तो जो सामाजिक अभियान्ताको उपमा दिइएको छ, यस्तो बेला नगरे कहिले गर्ने ? तपाई हामीले नगरे कसले गर्ने ? भन्ने प्रश्न उठ्नु स्वभाविक हुन्छ । त्यसैले पनि मैले पछि हट्नु हुन्न भनेर आफ्नो आत्मबललाई बलियो बनाई यो अभियानमा लागेको हुँ । यस्तो जोखिमका बेला पनि मलाई सहजै रुपमा बाहिर निस्किएर काम गर्ने वातावरण बनाइदिने मेरो परिवारप्रति विषेश आभारी छु । घर परिवार, साथीभाई र आफन्तहरुको हौसलाका कारण पनि मलाई कोरोनाका डरभन्दा ठूलो सहयोग हो भन्ने लागेर म दिनरात नभनी सहयोगका लागि खटे ।

आफ्नो ज्यान नै जोखिममा पारेर यसरी दिनरात खट्दा अमेरिकामा बस्ने नेपालीहरुबाट कस्तो प्रतिक्रिया पाउनुभयो त ?
मार्च, अप्रिल र मे गरी तीन महिना त हप्तैभरी, दैनिक ७/८ घण्टा न्युयोर्क शहरको हरेक बस्तीबस्तीमा पुगे । ती बस्तीहरुमा पुगेर नेपाली र अन्य गैरनेपालीलाई समेत आवश्यकीय वस्तुहरु, औषधी, पिपिइ जस्ता सामाग्रीहरु ढोकाढोकामा पुर्याएर सेवा गर्ने मौका पाएँ । त्यतिखेर अमेरिकामा रहेका नेपाली मात्र नभएर विश्वभर छरिएर रहेका नेपालीहरुबाट मैले सोचेभन्दा पनि बढी माया र साथ पाएँ । यो मेरो लागि पनि खुसीको कुरा थियो । त्यसमा पनि सबैको सकारात्मक सहयोग र सल्लाह पाउँदा खुसी पनि भएको छु । यसले आगामी दिनमा निरन्तर काम गर्ने प्रेरणा पनि मिलेको छ । मेरो यो विशुद्ध मानवीय सेवा भएकाले पनि मैले सबैको माया पाएको हुनसक्छ ।

अहिले चाँही त्यहाँ बस्ने नेपालीहरुलाई सहयोगको खाँचो कतिको छ नि ?
यतिवेला म जहाँ बसेको छु, यहाँको स्थिती केही सामान्य जस्तो बनेको छ । हिजोको जस्तो भयाभहको अवस्था छैन । मान्छेहरु काममा जान थालिसकेका छन् । पसलहरुमा सहज रुपमै आवश्यक वस्तुहरु उपलब्ध हुन थालेको छ । अन्य राज्यहरुको तुलनामा डर त्रासबाट मुक्त हुन थालेको अवस्था छ । साथै यहाँका सरकार र स्थानीय निकायले पनि राहतको प्याकेजका कार्यक्रममा पनि ल्याइरहेको छ । यहाँको सरकारले पनि नेपाली लगायतलाई सहयोग गर्दै आइरहेका कारण अहिलेको लागि त्यस्तो सहयोग गर्नुपर्ने स्थिती म खासै देख्दिनँ । तर, पढ्ने विद्यार्थीको हकमा भने केही समस्या छ । विद्यार्थीको हकबाहेक अरुलाई राहतको कार्यक्रम निरन्तरता गर्नुपर्छ भन्ने मलाई लाग्दैन । तथापि अझैं त्यस्तो अर्थात् सहयोग गर्नैपर्ने कोही भए हामी उहाँलाई सहयोग गर्न तयार छौं ।

कोरोनाको कहर र पछिल्लो समय बाढी पीडितहरुलाई पनि उत्तिकै सहयोग गरिरहनु भएको छ । अमेरिकामा बसेर पनि नेपालमा सहयोग गर्नुपर्छ भन्ने भावना कसरी आयो ?
आजभोली मैले दैनिक रुपमा सामाजिक सञ्जाल र समाचारहरुमा कोरोना महामारी र बाढी पहिरोबाट समेत ठूलो जनधनको क्षति भइरहेको सुन्दै आएको छु । कोरोनाको त्रास कायम रहेकै अवस्थामा फेरि प्राकृतिक विपत्ति आइपरेको सुन्दा मलाई म आफ्नै गाउँघरमा छु जस्तो लाग्छ । त्यही भएर पनि मेरो मन दुख्यो । यतिबेला मैले मात्रै होइन, संसारभर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबै मिलेर नेपालमा भइरहेको विपत्ति र विपत्तिमा परेका नेपालीहरुलाई सहयोग गर्नुपर्ने अवस्था छ । आफ्नो मात्रृभुमीमा रहेका नेपालीलाई सहयोग गर्नु हामी सबैको दायीत्य पनि हो । यसैक्रममा म लगायत घ्याल्सुम्दो सेवा संस्था अमेरिका र केही साथीहरुको सक्रियता र सहायतामा ग्रिन हाउस क्लबसँग समन्वय गरी सुनसरीको धरान, इटहरी लगायतका क्षेत्रमा १२० परिवारलाई राहत वितरण गर्ने अवसर मिल्यो ।

के उदेश्यले यसरी नेपाल र नेपालीलाई सहयोग गरिरहनु भएको छ ? कुनै त्यस्तो स्वार्थ छ कि ?
यो भनेको विशुद्ध मानवीय सेवा हो । यो कुनै उदेश्य वा सर्त राखेर गरिने चिज होइन । सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै र विशुद्ध मानवीय भावनाले यो आफ्नो तर्फबाट सक्नेजति सहयोग गरेको हुँ । फेरि म जस्तो एउटा नागरिकले जहाँ भए पनि आपतविपतमा परेका आफ्ना दाजुभाई दिदीबहिनीहरुलाई सहयोग गर्न के नै पो स्वार्थ चाहिन्छ र ? यस्तो बेला कसैले स्वार्थ राख्न भने त्यो सामाजिक कार्य नै हुन सक्दैन नि । त्यसैले अहिलेसम्म मसँग कुनै स्वार्थ छैन र हुने छैन ।

नेपालमा बस्ने नेपाली र अमेरिकामा बस्ने नेपालीलाई सहयोग गर्दा कति फरक हुँदो रहेछ ?
आखिर जहाँ रहे पनि नेपाली दाजु भाई र दिदी बहिनीहरुलाई सहयोग गर्ने हो । नेपालीलाई जहाँ रहे पनि सहयोग गर्न पाउनु आफैंमा खुसीको कुरा पनि हो । यो बेला मैले नजिकबाट नेपाल र नेपालीलाई केही गर्न सकिन्छ की भनेर लाग्ने मौका मिल्यो । फेरि अर्काे कुरा मैले पहिलेदेखि नै सहयोगका लागि हात अघि सार्दै आएको थिएँ । झन यो बेला म चुप लागेर बस्ने कुरा पनि थिएन । मुख्य कुरा यस्तो कठिन परिस्थिती आइपर्दा जहाँ बस्ने भए पनि सहयोग गर्नु मेरो कर्तव्य नै थियो । मात्र मैले मेरो कर्तव्य पूरा गरे । यसबाट म सन्तुष्ट छु ।

यसरी सहयोग गर्न खोज्दा अफ्ठेरोहरु पनि त आए होलान् नि ?
न्युयोर्कमा हिजोसम्म आफ्नै जात, पार्टी, विचार र वर्गको कुरा हुन्थ्यो । राजनीतिक खिँचातानी पनि उत्तिकै हुन्थ्यो । तर यो महामारीले त्यसलाई बिर्सिएर सहयोगी भावनाको विकास गराई दिएको छ । एक भएर अघि बढ्नुपर्छ भन्ने चेतना दिलाई दिएको छ । पछिल्लोपटक कसैले जातको कुरा गरेनन्, पार्टीको कुरा गरेनन् । र, आफ्नो वर्गको कुरा पनि गरेनन् । बरु एक भएर नेपाल र नेपालीको हितको लागि, कोरोना प्रभावित नेपालीहरुलाई सहयोग गर्नुपर्छ भनेर लाग्ने बनाई दियो । यो विपत्तिले कतिपयको मन जोडिदिएको छ । सम्बन्ध पनि राम्रो बनाइदिएको छ । त्यसैले सबै अफ्ठेरोहरु चिर्दै अघि बढ्न सहज भयो । यो हाम्रो लागि खुसीको कुरा पनि हो ।

के छन् आगामी योजनाहरु ?
खासै आफ्नो योजना त छैन । तर, भविश्यमा नेपालमा हुने प्राकृतिक प्रकोपका बेला आफुले सक्ने सहयोग गर्ने र त्यसलाई सहयोग गर्न आफु तयार रहने छु ।

अन्त्यमा कोरोना संक्रमणबाट बच्न के सुझाव दिन चाहानु हुन्छ त ?
यतिबेला कोरोनाबाट विश्वभर समस्या आएको छ । कोरोना संक्रमणबाट बच्ने औषधी पनि बनिनसकेको अवस्थामा यसबाट बच्न आफैं सजह रहने हो । तपाई जुन देशमा बस्नुहुन्छ, त्यो देशको सरकारले बनाएको गााइडलाइनलाई मान्दै आफैं सुरक्षित रहनुहोस् । म यही आग्रह गर्न चाहन्छु । नेपालमा रहेका सम्पूर्ण नेपालीहरुले पनि नेपाल सरकारले तोकेका मापदण्डहरु पूरा गर्नुस् । त्यसो भयो भने मात्र हामीले कोरोना संक्रमणलाई सजिलै जित्न सक्छौं । कोरोना संक्रमणसँग हेल्चेक्र्याई नगरौं । सबै स्वास्थ रहौं ।

 

प्रतिकृया दिनुहोस