बालुवाटारमा ओली–प्रचण्ड आमनेसामने : अडान यथावत राख्दा निस्किएन निष्कर्ष

Kp prachanda

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन भएको छ ।

आइतबार विहान नेकपाका अध्यक्ष ओली र प्रचण्डबीच तीन घण्टा संवाद भएको थियो । सोमबार विहानको संवाद सकारात्मक बन्ने अपेक्षा गरिए पनि विवाद थप चर्किएको छ । तर, दुवै नेता आआफ्नो अडानमा टसमस भएका छैनन् ।

असार १३ गतेको बैठक स्थगित र गुट भेलापछि निकै चिसो बनेको दुई अध्यक्षबीच हिजो आइतवारबाट संवादहीनता तोडिएको थियो । हिजोको छलफलमा खुला खुलस्त कुरा गरेका दुई अध्यक्षबीच आज सचिवालय बैठक बस्ने कि स्थायी कमिटी बैठक बस्ने भन्नेमा सहमति हुन सकेको छैन ।

अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड विहान ९ बजे बालुवाटार पुगेका थिए । उनको साथमा वरिष्ठ नेता झलनाथ खनाल र ओलीका साथ संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ थिए ।

सोमबार विहान करिब दुई घण्टा भेटको अन्तिमतिर दुई अध्यक्षबीच भनाभनको अवस्था भयो । जसले नेकपाभित्रको विवाद समाधानतर्फ भन्दा पनि थप बल्झिएको छ । दुई अध्यक्षबीचको संवाद चर्काचर्कीमा पुगेपछि अध्यक्ष प्रचण्ड र नेता खनाल पोने ११ बजे बालुवाटारबाट बाहिरिएका छन् ।

दुई अध्यक्षको भेटमा प्रचण्डले पार्टीभित्रको समस्या समाधानका लागि अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्न ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले आफूले दुवै पद छाड्ने कुरा असम्भव रहेको बताएका थिए ।

‘मेरो तर्फबाट सम्झौता हुन्न । जे जे छाड्ने हो तपाईंहरु छाड्नुहोस् । मलाई छाड्न विधानले दिन्न,’ ओलीले भेटमा प्रचण्डलाई भनेका थिए । ओलीको उक्त कुरापछि प्रचण्डले विधानअनुसार अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न नमिल्ने भए विधानअनुसार केन्द्रीय समिति बैठक बोलाउनुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्रीसमेत रहेका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार छैनन् । सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उनको प्रस्ताव छ ।

तर प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताएका छन् । ‘कुराकानी सकारात्मक नै छ तर कुनै सहमति भएको छैन,’ स्रोतले भन्यो, ‘भोलि मंगलबार साँझ ५ बजे फेरि बस्ने सहमति भएको छ ।’

प्रतिकृया दिनुहोस