बामदेव गौतमको प्रचण्डलाई लिखित पत्र, ‘म ओलीतिर गएको छैन, जान्नँ पनि’

Bamdev gautam

काठमाडौं । भैंसेपाटीस्थित निवासमा मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग बामदेव गौतम डिनरसहित बसेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नयाँ राजनीतिक माहाले तयार भएको छ ।

बामदेव ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट नहटाउने पक्षमा स्पष्ट उभिए । जुन ओलीको चाहना मुताबिक नै देखिन्थ्यो । तर, बामदेवको यो कदम उनी निकटस्थलाई नै मन परेन ।

पत्नी राधिका शाक्यसहित गौतमलाई भेट्न भैंसेपाटी पुगेपछि ओली इतरको समूह संशकित भएको थियो । साँझ प्रधानमन्त्रीको साथमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल पनि गौतम निवास पुगेका थिए । तर उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र पठाएका छन् ।

मंगलबार अध्यक्षद्वयलाई ६ बुँदे लिखित प्रस्ताव पठाएका गौतमले बिहीबार बिहान प्रचण्ड निकट नेताहरुलाई आफू केपी शर्मा ओलीतिर नलागेको सन्देश पठाएका हुन् ।

नेकपामा बढ्दो आन्तरिक विवादका बीच पछिल्ला यी दुई घटनाक्रमले फेरि गौतम ओली पक्षसँग निकट भएको आशंका गरेका प्रचण्ड निकट केही नेताहरु बुधबार बिहान उनलाई भेट्न गौतम निवास पुगेका थिए ।

निवासमै भेट्न पुगेका नेताहरुले गौतमलाई र्याखर्याख्ती पारे । हक्की स्वभावका गौतमलाई भन्नुसम्म भने । यसरी गौतमसँग कडा मिजासले बोल्नेमा ठाकुर गैरे, रविन कोइराला, रामकुमारी झाँक्री, डा. दिपकप्रकाश भट्ट, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धरलगायत थिए । उनीहरु गौतमलाई साथ दिदै आएका मध्येका हुन् ।

उक्त भेटघाटमा गौतमले आजसम्म पार्टी बलियो हुनु र एकता टिकिरहनुमा अध्यक्ष प्रचण्डको भूमिका निकै महत्वपूर्ण भएको भन्दै आफू पार्टी एकताको विरुद्धमा नरहेको स्पष्ट पारेका थिए । ‘म पार्टी एकताको विरुद्धमा छैन । अहिलेसम्म पार्टी यो स्थितिमा बसिरहनुमा अध्यक्ष प्रचण्डको निकै ठूलो भूमिका ।’

यसअघि अध्यक्ष प्रचण्डले पार्टी फुटाउन नहुने भन्दै प्रस्तुत गरेको विषयलाई व्याख्या गरेको भन्दै उनले प्रचण्ड निकट नेताहरुलाई भने, ‘मैले बढ्दो आन्तरिक विवादलाई मत्थर गर्नका लागि र पार्टी फुटबाट बचाउनका लागि ६ बुँदे प्रस्ताव अघि सारेको हुँ ।’

यसअघि मंगलबार मध्यान्ह स्थगित गरेको केही बेरमै नेता गौतमको ६ बुँदे सहमतिको प्रस्ताव भनि सार्वजनिक भएको थियो ।

प्रतिकृया दिनुहोस