सुनीलबहादुर थापा ‘इन’ हुन खोज्दा कांग्रेसबाट गोविन्दराज जोशीसहित ३ जना नेता ‘रिङ आउट’

Sunil in joshi out

काठमाडौं । सहमहामन्त्रीसहित ६ जना केन्द्रिय सदस्य पाउनेगरी मंगलबार राप्रपाका नेता सुनीलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गर्दैछन् । पार्टी प्रवेश गर्नका लागि पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापा पुत्र सुनीलले राप्रपा त्यागे ।

थापाले राप्रपा त्यागेकै दिन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ । कुनै बेला कांग्रेसमा निकै शक्तिशाली मानिएका जोशी अहिले पार्टीबाटै निस्काशनमा परेका छन् ।

पूर्वमन्त्री जोशी र अर्का पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई ५÷५ वर्षका लागि पार्टीबाट निस्काशन गरेको छ भने नेपाली कांग्रेस डडेलधुराका कार्यालय सचिव विष्टलाई ३ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जोशीले गएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिँदा पौडेलले पराजय भोग्नुपरेको थियो । तनहुँ नेपाली कांग्रेस जिल्ला कार्य समितिको समानान्तर अर्को कार्यसमिति गठन गर्ने मुख्य भूमिका पनि जोशी रहेको ठहर अनुशासन समितिले गरेको छ ।

कैलालीका ओझाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार डा. आरजु राणा देउवालाई हराउन सक्रिय भूमिका खेलेको ठहर गर्दै पार्टीको अनुशासन समितिले कारबाही गरेको हो ।

अनुशासन समितिले डडेल्धुरा जिल्ला कार्य समितिका सचिव रामबहादुर बिष्टलाई महिला सदस्यलाई कुटपिट गरेको उजुरी परेपछि तीन वर्षका लागि निस्काशन गरेको छ ।

केन्द्रीय सदस्य भीष्मराज आङदम्बे संयोजक र सदस्यहरू देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, धनराज गुरुङ र उमाकान्त चौधरीले संयुक्त रुपमा हस्ताक्षर गरेको निर्णयमा सो कुरा उल्लेख छ ।

समितिले गएको संघीय संसद्, प्रदेश सभा र स्थानीय तहमा पार्टीको उम्मेदवारलाई असहयोग गर्ने २ सय ७९ जनालाई निर्वाचनकै क्रममा पार्टीबाट निस्काशन गरेको थियो ।

प्रतिकृया दिनुहोस