कांग्रेसका आमन्त्रित सदस्यको यस्तो छ गोरख धन्दा, यसरी छलियो कर

Aananda bist usa 25 asar 077

न्युयोर्क (अमेरिका) । नेपाल सरकारले नागरिकता विधेयकबारे छलफल चलाइरहेका बेला नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्ट (गोरख) अमेरिकी ग्रीन कार्ड होल्डर भएको खुलेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले विदेशस्थित जनसम्पर्क समिति मध्येबाट ग्रीन कार्डधारी विष्टलाई एक वर्षअघि मात्रै आमन्त्रित केन्द्रिय सदस्यमा विष्टलाई मनोनित गरेका थिए । उनी पार्टीलाई प्रभाव र दवावमा राख्नसक्ने व्यक्ति हुन् । त्यही भएर पनि उनलाई नेपाली कांग्रेसले आमन्त्रित सदस्य मनोनित गरेको हो । तर अहिले उनको व्यवहारले सबै आजित भइसेको छन् । 

नेपाली कांग्रेसको विधानले पनि ग्रीन कार्ड, पिआर र डिवी भएका व्यक्तिलाई कुनै पनि जिम्मेवार पद दिन मिल्दैन । तर पहुँचकै भरमा उनलाई आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित गरिएको छ ।

नेपाली कांग्रेसमा सहमहामन्त्री प्रकाशशरण महत र सभापति पत्नी डा. आर्जु राणासँग निकट सम्बन्ध रहेका विष्टले सन् २०१५ मा गएको विनासकारी भुकम्पका बेला अमेरिकामा उठाइएको ठूलो रकम दुरुपयोग गरेको आरोप पनि पटकपटक लाग्दै आएको छ ।

अमेरिकामा महत र आर्जु राणासँग सम्बन्ध राम्रो बनाएकै कारण पुरस्कार स्वरुप आर्जुको दयामा सभापति देउवाले आमन्त्रित केसमा पदमा मनोनित गरेका थिए ।

डोटी जिल्लामा जन्मिएका विष्ट सन् १९९८ मा अमेरिका छिरेका थिए । विष्टले माओवादी द्धन्द्धलाई कारण देखाउँदै सन् २००९ मा अमेरिकी ग्रिन कार्ड पाएका थिए । त्यसयता उनी अमेरिकामै बस्दै आएका छन् ।

जनसम्पर्क समिति नै विवादमा
त्यसो त नेपाली जनसम्पर्क समिति अमेरिका यिनै विष्टका कारण आर्थिक अनियमितता र चरम विवादमा फसेको छ । विगत ६ वर्षदेखि अधिवेसन नगरी आफ्नो पदावधी लम्ब्याएका विष्टले नेपालीहरुबाट उठाइएको चन्दा सहयोग सिधैं आर्जु राणा र महतलाई दिने गरेका छन् ।

उनी हाल मण्डलेसँग मिलेर काम गर्दा कांग्रेसमा असन्तुष्टी बढेको छ । उनकै कार्यशैलीका कारण विजयकुमार थुलुङले कोषाध्यक्ष पदबाट राजीनामा दिएका छन् । महासचिव मुनिन्द्र नेङवाङबीच हाल बोलचाल नै बन्द छ ।

हालै भएको जुम बैठकमा जनसम्पर्क समितिका केन्द्रिय सदस्य प्रमोद सिटौलाले खुलेरै हुण्डिमार्फत पठाइएको १ लाख ३० हजार डलर कहाँ गयो भनेर सोधेका थिए । त्यतिबेला उनले बैंकमार्फत नेपाल पठाएको दावी गरेपछि सबैको प्रमाण मागेका थिए । जुम बैठकको भिडियो निशान न्युजसँग सुरक्षित छ ।

भित्रभित्रै नेपाली र नेपालका लागि भन्दै उठाइएको ठूलो रकमबाट विष्टले पेन्सलभेनिया र ओहायो राज्यमा २ वटा खरिद गरेका छन् । पेशाले ट्याक्सी ड्राइभर रहेका विष्टकी श्रीमति सामान्य काम गर्छिन् । तर, यति सानो कमाईले न्युयोर्क जस्तो महंगो शरहमा बसेर पनि दुई वटा घर कसरी ठडियो भन्ने प्रश्न उब्जिएको छ ।

यसरी छलियो कर
सन् २००७ मा अमेरिकामा नेपाली कांग्रेसको भात्रृ संस्थाको रुपमा नेपाली जन सम्पर्क समिति अमेरिका दर्ता भएको थियो । तर, विष्ट सन् २००९ मा न्युयोर्कमा आफ्नै नाममा सोही नामको अर्काे संस्था दर्ता गरेका थिए ।

पछि नेपाली कांग्रेसले हस्तक्षेप गरेर सन् २०१४ मा दुबै संस्थालाई एक बनाउन एकता महाधिवेसन गराएको थियो । सो महाधिवेसनमा विष्ट नै सभापति निर्वाचित भएका थिए । त्यसयता उनी लगातार रुपमा सभापति छन् ।

यो पुरानो जनसम्पर्क समितिमा सबैको हिस्सा रहने हुँदा आफुखुसी गर्न पाएनन् । उनले अहिले आफ्नै घरको ठेगाना राखेर नेपाली जनसम्पर्क समिति नामकै अर्काे संस्था दर्ता गराएका छन् ।

उनले पुरानो संस्थाबाट उठाइएको १ करोड ३५ लाख रुपैयाँ हुण्डि र गैरकानुनीमार्फत नेपाल पठाइएका छन् । न्यु जर्सी र न्युयोर्क च्याप्टरले ४७ हजार डलर नगद बुझाएको पनि खुल्न आएको छ र त्यसको लेखाजोखा नै छैन । उनले पार्टीलाई भनेर पठाइएको सो रकम कसको खातामा गयो भनेर अहिलेसम्म खोजी भएको छैन, जुन पैसा पार्टीको खातामा जम्मा भएको देखिँदैन ।

मेरो चरित्र हत्या गर्न खोजियो : विष्ट
उनी पटकपटक विवादमा पर्दै आएका छन् । यसअघि पनि निशान न्युजले विष्टको विषयमा समाचार प्रकाशित गरेको थियो । हाल कर छली गरेको, जनसम्पर्क समितिको विषयमा निशान न्युजले जिज्ञासा राखेको थियो ।

उनले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । ‘मेरो चरित्र हत्या गर्न खोजिँदैछ’ उनले निशान न्युजसँग टेलिफोनमा भने, ‘मेरो संस्थाले कारवाही गरेको छ । त्यही रिसमा मेरो चरित्र हत्या गर्नेगरी उहाँहरु लागिरहनु भएको छ ।’

जुम बैठकमा सहभागीहरुले भुकम्पका बेलादेखि हालसम्म उठाइएको पैसा कहाँ गयो ? खोइ हिसाव किताव देखाउनु पर्दैन भनी प्रश्न गरेका थिए । उनले उत्तरमा आफुले बैंकमार्फत नै पठाइएको दावी गरे । निशान न्युजसँग पनि भुकम्पको बेला पैसा पठाइको बताए ।

‘मैले बैंक टु बैंक पैसा पठाइएको छु’ उनले भने ‘एक पैसा पनि हिनामिना गरिएको छैन । म सबैं हिसाव देखाउन तयार छु । तर, त्यसरी अनावश्यक रुपमा आरोप लगाउन पाइदैन । मेरो चरित्र हत्या गर्न पाइँदैन ।’

प्रतिकृया दिनुहोस