नेकपाका यी ४ नेता, जसले पाए ओली–प्रचण्डलाई जोड्ने जिम्मेवारी : के बन्ला त सहमतिका बुँदा ?

Oli prachanda jod

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक द्धन्द्ध अन्तिम चरणमा पुगेको छ । केही दिनभित्र हल नभए नेकपा चिरा पर्ने सम्भावना पनि छ । यतिसम्म आइपुग्दा पार्टीका शीर्ष नेताहरुलाई दवाव दिन दोस्रो तहका नेताहरु तातिएका छन् ।

अहिले पछिल्लो समयमा दोस्रो तहकै नेताहरुले शीर्ष दुई नेतालाई मिलाउने जिम्मेवारी पाएका छन् । यी नेताहरुमा विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा छन् ।

आइतबार प्रधानमन्त्री निवास बाल्वाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वान टु वान वार्ता गर्ने तयारी भएको भए पनि एक अर्काबीचको अविश्वासका कारण यी ४ नेतालाई साक्षी राखेर ओली र प्रचण्ड वार्तामा बसेका थिए ।

वार्ता सकारात्मक भए पनि निष्कष ननिकस्किँदा विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मालाई सहमतिका आधार तयार पार्न जिम्मेवारी दिइएको छ । जुन सहमतिले विभाजनको मुखैमा पुगेको नेकपालाई रोक्न पनि सक्छ । पार्टी विभाजनलाई रोक्नका लागि यी ४ जना नेताहरु आन्तरिक छलफलमा लागिपरेका छन् ।

ओली र प्रचण्डबीच झण्डै डेढ घन्टासम्म वार्ता भएको थियो । वार्ताका क्रममा दुवै अध्यक्षबीच सबै विकल्प र सम्भावनाबारे छलफल गर्न सहमति भएको बताइएको छ । नेकपाले स्थायी कमिटी बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ ।

दुवै जनाबीच भएको वार्ताका क्रममा मंसिर ४ को सहमति कार्यान्वयनका विषयमा छलफल भए पनि निष्कर्ष भने निस्किएन । भोलि फेरि एकपटक वार्ता गर्नेगरी आजलाई छलफल सकिएकाले भोलीसम्म निष्कर्ष निस्किने बताइएको छ ।

पार्टी संरचना र अंकगणितमा ओली कमजोर देखिएका छन् । संसद अधिवेशन अन्त्य गरेर संसदमार्फत आफूविरुद्ध हुनसक्‍ने कदमबाट ओली जोगिन खोजेका छन् । बाहिरको आलोचना र पार्टीभित्रबाट घेराबन्दीमा परेका ओलीले राष्ट्रपतिलाई समेत प्रभावमा लिएर केही कदम चाल्‍नसक्ने अनुमान र आशंका गरिएका छन् ।

पार्टीभित्र चर्केको आन्तरिक कलहबीच नै प्रधानमन्‍त्री ओलीले असार १८ गते आकस्मिक रुपमा संसद अधिवेशन अन्त्य गरेपछि राजनीतिक अन्योल छाएको छ । ९ सदस्यीय सचिवालयमा ६ जना र ४४ सदस्यीय स्थायी समितिका ३० जना ओली विपक्षमा देखिएका छन् । केन्द्रीय समितिमा पनि ओली स्पस्ट अल्पमतमा देखिएका छन् । अहिलेको पार्टी विभाजन गर्न ओलीका लागि अनुकुल अवस्था छैन ।

प्रधानमन्‍त्रीले शनिबार अपरान्ह मन्‍त्रीलाई बालुवाटार बोलाएर आफ्नो लाइन क्लियर गर्न र आफूलाई साथ नदिने मन्‍त्रीहरुलाई बाहिरिन आग्रह गरेपछि आन्तरिक विवादले थप गम्भीर मोड लिएको थियो ।

ओलीले राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने तयारी भइरहेको प्रचार गरेपछि राष्ट्रपतिसमेत पार्टी विवादमा मुछिएकी छन् । असन्तुष्ट पक्षले हुँदै नभएको विषय उचालेर राष्ट्रपतिलाई जबरजस्ती पार्टी झगडामा तानेको आरोप लगाएका छन् ।

 

प्रतिकृया दिनुहोस