प्रचण्ड र आफुलाई ओलीले जेल हाल्ने तयारी गरेको माधब नेपालको खुलासा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीका विरुद्ध यतिबेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमलगायतका नेता उभिएका छन् । जारी स्थायी कमिटी बैठकमा उनीहरूले ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन दबाब दिएपछि बैठक नै प्रभावित छ ।
बैठक छाडेर आपसी सहमति गराउन जुटेका नेता एक्लाएक्लै र सामूहिक छलफलमा छन् । कहिले अध्यक्षद्वय त कहिले अन्य नेताहरू गुटगत र समूहगत रूपमा भेला भएर गतिरोध समाप्त पार्न छलफलमा छन् । छलफलमा जुट्दा वरिष्ठ नेता माधव नेपालका भने अचेल गज्जबका तर्क छन् ।
छलफलमा नेता नेपाललाई पार्टीलाई मजबुत बनाउनुपर्छ, प्रधानमन्त्रीबाट ओलीलाई यो अवस्थामा हटाउनुहुँदैन भनेर जसजसले सुझाव दिन्छन्, उनको एउटै रेडिमेड जवाफ छ- 'ललिता निवास प्रकरणमा ओलीले मलाई थुन्न लागेका थिए, मलाई थुन्न लाग्नेलाई किन मैले छाड्ने ?’ छलफलमा ललिता निवास जग्गा प्रकणरमा ओलीले जग्गा छानबिन गर्नुको मुख्य उद्देश्य नै आफूलाई थुन्ने रहेको भन्दै अडानमा बस्ने गरेको नेकपा सचिवालयका एक नेता बताउँछन् ।
‘म एक दिन भेट्न गएँ, ओलीजी र तपाईं मिल्नुहोस्, यो झगडा गर्ने बेला होइन भनेर सुझाव दिएँ’, अर्का एक केन्द्रीय सदस्यले भने, ‘तर, उहाँले जसले मलाई थुन्ने योजना बनायो, उसैलाई मैले समर्थन गर्ने ? यो हुन सक्दैन भन्नुभयो ।’ ओलीले आफूलाई थुन्ने योजना बनाएकाले नछाड्ने अडान राखेका छन् नेपालले ।
उनका अनुसार नेपाल यतिमा मात्र रोकिँदैनन् । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियारले छानबिन गर्ने गरी गरेको निर्णय मोवाइलमा खोलेर देखाइहाल्छन् । उक्त जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहितका नेता छानबिनको घेरामा छन् । मन्त्रिपरिषद्मा आफूलाई समेत यो प्रकरणमा फसाउन ओलीले निर्णय गराएको नेपालको बुझाइ छ ।
उनका अनुसार बालुवाटारस्थित ललिता निवास प्रकरणमा प्रधानमन्त्री हुँदाताका गरेको निर्णयलाई समातेर आफूमाथि रिसइवी साँध्न ओलीले खोजेको कुरा नेपालको मनमा यति गहिरो गडेको छ कि उनी त्यसवाट बाहिर निस्कन सकेका छैनन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेमार्फत् प्रधानमन्त्री ओलीले आफूमाथि दबाब बढाएको पनि नेता नेपालले आफू निकटहरूसँग शेयर गर्दै आएका छन् ।
‘मन्त्रिपरिषद्को निर्णयमा अख्तियारले छानबिन गर्न सक्दैन, पाउँदैन, तपाईं किन डराउनुहुन्छ ?’ भनेर कार्यकर्ताले सोध्दा उनी आफ्नो मोबाइलमा भएको फाइलको फोटो देखाएर प्रमाण पेस गर्दै आएका छन् । उनको जवाफ हुन्छ, ‘तपाईं ओलीलाई चिन्नुहुन्न, म दशकौँदेखि राम्ररी चिन्छु, उनी विपक्षीलाई सिध्याउन जे पनि गर्छन्, उनको भर छैन ।’
कतिसम्म भने, '२ नेता मिल्नुहोस्' भनेर फोन गरेर सुझाव दिनेलाई पनि उनी आफूलाई ओलीले थुन्न खोजेको कुरा सबैभन्दा पहिला सुनाउँछन् । ‘धेरै जिल्लाका नेताहरूले पनि माधव नेपाल आफैँले फोन गरेर मलाई ओलीजीले थुन्न लागेको भन्ने खबर गरिरहनुभएको छ’, एक जिल्ला नेताले भने ।
वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका पत्रकार हुन् वा नागरिक समाजका अगुवाहरू, उनी एउटा कुरा कहिल्यै छुटाउँदैनन् । मोवाइलमा राखेको अख्तियारको निर्णय देखाउँदै भन्छन्, ‘तपाईंलाई विश्वास लाग्दैन भने ल यो निर्णय हेर्नुहोस् ।’
उनले आफ्नो कुरा मात्र गर्दैनन्, कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि ओलीले थुन्ने योजना बनाएको सुनाउन पनि छुटाउँदैनन् । ‘मलाई मात्र होइन, शिविर घोटाला र युद्ध अपराधको मुद्दामा पनि प्रचण्डलाई थुन्न खोजका छन् ।’ यति भनेर उनी फोन टेबुलमा राख्दै भन्छन्, ‘आफ्ना विपक्षी सबैलाई थुनेर शासन चलाउन ओलीजी लाग्नुभएको छ, यो गर्न दिइन्नँ ।’
आफू र प्रचण्ड दुवैलाई थुन्न लागेकाले मोर्चाबन्दी गरेर ओलीलाई हटाउन लागेको नेपालले आफू निकट नेता र कार्यकर्ताहरूलाई भन्दै आएका छन् । अख्तियारका प्रमुख आयुक्त घिमिरेले त्यसबारेमा आफूलाई पूर्ण विवरण सुनाएको तर्क गर्दै ओलीलाई जसरी पनि हटाउनुपर्ने, नभए सबैलाई खतरा हुने भन्दै सहयोग माग्ने गरेको उनलाई भेट्नेहरूले बताउँदै आएका छन् । शिलापत्रमा समाचार छ ।
प्रतिकृया दिनुहोस