राजतन्‍त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो : अध्यक्ष प्रचण्ड

Prachanda at samsad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्र कालमा गुमाएको भूमि नेपालले गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै प्रचण्डले यस्तो बताएका हुन् ।

नयाँ नक्सासहितको संविधान संशोधन विधेयकमाथि भएको छलफलमा बोल्दै प्रचण्डले भने, ‘गणतन्त्रमा हामी राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुग्यौैँ ।’

प्रचण्डले यो ऐतिहासिक जित भएको उल्लेख गरे । उनले नेपाल गणतन्त्र र लोकतन्त्रसँगै संघीयता र समावेशीताको नयाँ युगमा प्रवेश गरेको प्रष्ट पारे ।

उनले राष्ट्रिय एकताको पक्षमा यो अभूतपूर्व सहकार्य भएको भन्दै प्रचण्डले यसमा साथ दिने राजनीतिक दल र सबैलाई धन्यवाद दिए । 

यता संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी जनता समाजवादी पार्टी (जसपा) की सांसद सरिता गिरीलाई संसदमा बोल्न नदिएपछि उनी संसद बैठकबाट बाहिरिएकी छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रक्रिया नपुगेकाले विधेयकमाथिको संशोधन प्रस्ताव अस्वीकृत भएको भन्दै सांसद गिरीलाई बोल्न नदिने रुलिङ गरेका हुन् ।

सांसद गिरी संसदको प्रक्रिया सुरु भए लगत्तै सांसद गिरी बोल्नका लागि उठेकी थिइन् । तर सत्तापक्षका सांसदले होहल्ला गरेपछि सभामुख सापकोटोले संशोधन प्रस्ताव प्रक्रिया नपुगेकाले अस्वीकृत गरेको जानकारी गराउँदै बोल्न समय नदिइएको बताए ।

सभामुख सापकोटाले सुरुमा सरिता गिरीलाई छोटोमा कुरा राख्न भनेका थिए । तर होहल्ला भएपछि रुलिङ गरेका हुन् । त्यसपछि गिरी संसद भवन बाहिर निस्किएकी छन् ।

प्रतिकृया दिनुहोस