एमसीसी यही संसद बैठकबाट पारित गराउन सभापति देउवाको माग

Sher bahadur deuba 5mhgmmnga0

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई सदनबाट पारित गर्नेबारे सरकार उदासीन रहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको नीति तथा कार्यक्रमबारेको छलफलमा सहभागि देउवाले अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोगसम्बन्धि सम्झौता एमसीसीलाई सदनबाट पारित गर्नेबारे सरकारको उदासिनता देखिएको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘नीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी र जवाफदेहितासाथ सरकार अग्रसर हुन सकेको देखिएन । यहि सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन म माग गर्दछु । पूर्ववर्ती सरकारले गरेका निर्णय र सम्झौता उलंघन गर्दै जाने प्रवृत्तिले गलत नजिर बसेको उनले बताए ।

सभापति देउवाले कोरोना भाइरसको महामारीमा सरकारले सबैलाई आफू अभिभावक भएको अनुभूति गराउनु पर्नेमा नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको पनि बताए । सरकार आत्मप्रशंसामा रमाएको बताउँदै देउवाले भने, ‘विगत दुई वर्षमा निकै काम गरेको दावा गरिएको छ ।

सभापति देउवाले पछिल्लो समयमा सार्वजनिक भएको यतिकाण्ड हुँदै सेक्युरीटी प्रेस खरिद सम्बन्धि काण्डमा मन्त्री नै भ्रष्टाचारमा संलग्न भएको घटनापछि सरकारले भ्रष्टाचार नियन्त्रणको कुरा गर्नु जग हसाउने विषय भएको जिकिर गरे ।

कोरोना महामारीको बेलामा अत्यावश्यक सामग्री र औषधि समेतमा भ्रष्टाचार भएको प्रश्न उठ्नु, त्यसमा छानविन हुनुको साटो प्रधानमन्त्री आफै भ्रष्टाचारजन्य घटनाको बचाउमा उत्रिने र उन्मुक्ति दिने जस्ता घटनाले सुशासन र सदाचारको विषयमा सरकार पूर्ण असफल भएको पुष्टि भएको बताए ।

प्रतिकृया दिनुहोस