लकडाउनको असर : यौन जीवनमा कोरोनाले पार्दैछ ठूलो प्रभाव

Gopal dhakal 26

विश्वव्यापी कोरोना संक्रमणले यतिबेला लगभग सिंगै विश्व लकडाउनको अवस्थामा छ । मानिसहरु घरभित्रै सेल्फ क्वारेन्टाइनमा बसेका छन् । मानिसको दैनिकीमा परिवर्तन आएको छ । कोरोनाको प्रभाव शारीरमा मात्र परेको छैन र पर्ने कुरा पनि होइन । व्यक्तिको सोच, विचार, भावना, व्यवहार, सम्बन्ध, यौनजीवन आदिजस्ता कुरामा पनि परेको छ ।

मानिसका लागि आधारभूत आवश्यकताका अन्य वस्तु झैं यौन क्रियाकलाप पनि अत्यावश्यक कुरा हो । तर, अहिलेको लकडाउन र सेल्फ क्वारेन्टाइनले यौनको परिपूर्तिमा असर गरेको अनुमान गर्न सकिन्छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यौनजोडी मध्येको कुनै एक जनामा यदि कोरोनाको संक्रमण भएको रहेछ भने अर्को यौन पार्टनरलाई सर्ने जोखिम हुन्छ । यौन क्रियाकलापका दौरान गरिने स्पर्श, चुम्बन आदिले त जोखिम झनै बढाउँछ । एक प्रेमीले आफूलाई कोरोना सारिदिएको भन्दै इटालीमा एक युवकले आफ्नी डाक्टर प्रेमिकाको हत्या गरेको दुःखद् समाचार आएको छ ।

यद्यपि कोरोना यौन सम्बन्धबाट सर्ने रोग भने होइन । यौन जोडीहरु, जो लामो समयदेखि सँगै बसिरहेका छन् र दुबैमा कोरोनाका कुनै लक्षण र आशंका देखिएका छैनन् भने लकडाउनको समयमा पनि सुरक्षित रुपमा यौन सम्बन्ध राख्न कुनै बाधा पर्दैन । तर, यस्तो समयमा अपरिचित, परपुरुष तथा परस्त्रीसगँको यौन सम्बन्ध भने असाध्यै जोखिमपूर्ण हुन्छ । कोरोनाको संक्रमण सर्ने डरले अहिले यौनमा वैकल्पिक उपायका साधनहरुको प्रयोग बढेर गएको छ ।

विश्वमा नै अहिले यौन खेलौनाको माग तथा बिक्री बढेको तथ्यांक देखिन्छ । पोर्न साईट भिजिट गर्नेको संख्या बढेको तथा पोर्नस्टारहरुको कमाइ एवं माग पनि बढेका छन् । राष्ट्र संघीय जनसंख्या कोषले कोभिड –१९ को महामारी विश्वव्यापी फैलिरहँदा धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा हुँदा ७० लाख महिलामा अनिच्छित गर्भ रहने जनाएको छ ।

लकडाउनको समयमा अहिले व्यक्ति फुर्सदिलो भएको छ । के गरेर समय बिताउने ? धेरैमा छट्पटी पनि बढेर गएको छ । लकडाउनको समयलाई सिर्जनशील रुपमा बिताउन नजान्दा यौनमा अझ बढी ध्यान जान सक्छ । धेरैलाई कोरोनाको डर–त्रासले तनाव बढाएको छ । तनावका बेला अन्य कार्यमा रुची नजाने र यौनलाई नै आनन्द र मनोरञ्जनको माध्यम बनाउने जोखिम पनि बढ्छ । यौन सम्पर्कका बेला मस्तिष्कबाट अक्सिटोसिन, डोपामिन, एन्डोरफिनजस्ता खुशी र आनन्द दिने रसायनिक तत्त्वको उत्पादन हुन्छ । यसकारण पनि यस्तो अवस्थामा व्यक्ति यौनकर्मप्रति लालायित हुन पुग्छ ।

यौन क्रियाकलापका निम्ति यौन जोडीबीच समझदारी र सहकार्य हुनु जरुरी हुन्छ । लामो समयदेखिको तनावले यौन जोडीमा यौन क्षमता तथा चाहना कम भएको हुन सक्छ । कोरोनाको भय–त्रासका कारण यौनजोडी तनावमा हुन सक्छ । असुरक्षित महशुस गरिरहेको हुन सक्छ । भविष्यलाई लिएर चिन्ता गरिरहेको हुन सक्छ । यस्तो अवस्थामा रिस, आवेग, चिटचिटाहट बढेर जान्छ । विपत्तिको यस्तो अवस्थामा यौनजोडीले एक–अर्काको ख्याल गर्नुपर्छ, भावनाको कदर गर्नुपर्छ । एक–अर्काको सहमति र इच्छाविपरीत यौनकार्य गर्नु हुँदैन । त्यसले वैवाहिक सम्बन्धमा समेत समस्या उत्पन्न हुन सक्छ । यो कुरामा विचार नपुग्दा यौनहिंसा तथा घरेलु हिंसाको कारण बन्न पुग्छ । कोरोनाको डर–त्रास र तनावलाई बिर्सन रक्सीको सहारा लिने गरेको पाइन्छ । नसामा भएका बेला व्यक्तिमा यौन उच्छृंखलता बढ्छ । नसाले यौनमा जोरजबर्जस्ती तथा यौनहिंसा बढाउन सक्छ ।

लकडाउनको समयमा विश्वभरि नै महिला हिंसा र यौनहिंसा बढेर गएको तथ्यांकले देखाएको छ । पारपाचुके गर्नका लागि निवेदन दिनेहरु पनि बढेका समाचारहरु आइरहेका छन् । यी घटनाहरु बढनुका पछाडि केही खास कारणहरू छन् । लकडाउनका बेला यौनजीवनलाई संयमित बनाउन नजान्नु वा नसक्नु नै हुन सक्छ । विपत्ति र रोगको संक्रमण बढेका बेला राखिने यौन सम्बन्ध असुरक्षित पनि हुन सक्छ । चाहना नगरेको गर्भ रहन सक्छ, जसले यौनजोडीका दुबैलाई तनाव थपिदिन्छ । इच्छा नहुँदा–नहुँदै गर्भ रहयो र बच्चा जन्माउनुप¥यो भने त्यसले आामा र बच्चा दुबैको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पु¥याउँछ । प्लान नगरेको बच्चालाई जन्माउनु पर्दा बच्चा जन्मिसकेपछि पनि आमालाई पोस्टनेटल डिप्रेसन हुने जोखिम बढ्छ ।

अर्को कुरा, लकडाउनभन्दा अगाडि कामको व्यस्तता र दौडधुपका कारण धेरैको यौनजीवन तहसनहस भएको पनि हुन सक्छ । त्यसो हो भने लकडाउनलाई अवसरका रुपमा लिनुपर्छ । शारीरिक सम्पर्कले शरीर मात्र एक बनाउने होइन, मनलाई समेत एक बनाउन सहयोग गर्छ । भावनात्मक रुपमा एक–अर्कालाई नजिक त्याउँछ र अझ बढी आफ्नोपनको महशुस गराउँछ, आत्मबल बढेर जान्छ र शरीरमा स्फूर्ति तथा जोस–जाँगर बढ्छ । तसर्थ, अहिलेको बिपत्तिको अवस्थामा पनि सुरक्षित र संयमित यौनलाई भने प्रोत्साहन गर्नुपर्छ ।

(लेखक मनोविद् हुन्, उनी ‘मार्क नेपाल’ संस्थासँग सम्बद्ध छन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...