प्रधानमन्त्री ज्यू, विश्वासको सुइरो घटेर माइनसमा पुगिसक्यो त !

Ganga baral

सिंहदरवारमा दोस्रोपटक प्रधानमन्त्री भएर पदासिन हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति मानिसमा जुन विश्वास थियो, अहिले ठिक उल्टो भएको छ । यो जनताको कारण वा अरु कुनै कारण नभई मात्र उनको अहमता, दम्भ र घमण्डीको परिणाम हो भन्दा फरक पर्दैन । सरकार केको लागि र कसको लागि कुन लक्ष्य लिएर बनेको भन्ने प्रश्न अहिले जताततै छ, यसको जवाफ दिन सक्ने हैसियत न त प्रधानमन्त्रीसँग छ, न त उनका अरौटेभरौटेहरुसँग नै ।

तत्कालीन एमाले र माओवादीबीच एकता भएर बनेको नेकपाले निर्वाचनमा जाँदा जनतालाई जसरी विश्वास दिएको थियो, त्यसमा अहिले विश्वासघात भएको छ । के सरकारलाई जनताले असहयोग गरेको हो त ? के प्रधानमन्त्रीसँग ज्ञान कमी भएको हो त ? उनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अरुले असहयोग गरे ओली यो अवस्थामा खुम्चिन पुगेका हुन् त ? भन्ने प्रश्न उठ्नु अस्वभाविक होइन । ओलीले मानिसलाई मान्छे नै गनेका छैनन्, कसैले भनेको पनि सुनेका छैनन्, उनीभन्दा सुन्ने र जान्ने मान्छे पार्टीमा नभएका होइनन् । तर सबैलाई वेवास्ता गरेर म नै सबैथोक हुँ भनेको व्ययहार उनले भोग्दै आएका छन् ।

सरकारको आयु ४५ प्रतिशत सकिएको छ । बीचमा कुनै दुर्घटना नभई यो सरकार ५ वर्षसम्म चल्यो भने जनताले के पाउँछन् ? यो मेरोमात्र होइन, पार्टीभित्रको अर्को खेमाले पनि गरिरहेको प्रश्न यही हो । तर यो बीचमा सरकारले गर्नुपर्ने सामान्य काम पनि गरेको छैन, सरकारको दायित्व के र उसले के के गर्नुपर्छ भन्ने कुरामा सरकारलाई थाहा छैन ? कि जानीजानी बुझ पचाएको छ । सरकार ५ वर्ष चल्छ, संविधानले नै यो व्यवस्था गरेको छ । तर त्यसपछि नेकपाका नेताहरु अर्को चुनावमा के एजेण्डा लिएर भोट माग्न जान्छन् भन्ने टुंगो छैन । मानिसलाई एक दुईपटक ढाँट्न र झुक्याउन सकिन्छ । तर, सधैं ढाँटकै पेशा गरेको पेशेवरले पनि अब जनताको भावनामाथि खेलवाड गर्न सक्दैन । नेकपाले चुनावी घोषणापत्रमा गरेका सबै प्रतिवद्धता बिर्सिएको छ, घोषणापत्रमा के छ भन्ने पनि उनीहरुलाई थाहा नहुन सक्छ, उनीहरुले त्यसलाई बेलामौका हेर्ने र के लेखेको रहेछ भन्ने खोजी नै गरेका छैनन् । किनभने त्यसअनुसार गर्नुपरेको छैन ।

२०७२ असोज २४ गते पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीको जुन क्रेज थियो, त्यो क्रमशः कमजोर हुँदै गयो । १० महिना शासन गर्ने र जनतालाई न्याया दिने भनेर सत्तारोहण गरेका ओलीले आफ्नो नाम इतिहासमा दर्ता गराए प्रधानमन्त्री भएर । तर पनि प्रधानमन्त्री भएको सार्थकता देखाउन सकेनन् । न त उनले सत्ता साझेदारको चित्त बुझाए न त विपक्षीको नै । उनको छुद्र व्यवहारको जति आलोचना गरे पनि कमै हुन्छ । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जुन सहमति गरेर सरकार बनेको थियो, त्यो भद्र सहमति उल्टाउने काम ओलीले नै गरेका हुन् । सहमतिअनुसार सत्ता नछोड्ने अडानमा रहेका प्रचण्डलाई चिढ्याउनुले उनले जीवनको एउटा गलत बाटो लिए, जसमा आफैं खनेको खाल्डोमा परे ।

सहमति भएको होइन मात्र भनेनन्, ओलीले जसरी हुन्छ प्रचण्डलाई सक्न र आफ्नो सत्ता जोगाउन अनेक खेल खेले । प्रधानमन्त्रीको कुर्सीकै बदनाम हुने गरी सधैं टाँसिन खोजेपछि अन्तिम विकल्पका रुपमा प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिएर वारपारको लडाइमा निस्कन बाध्य भए । अन्त्यमा केही नलागेपछि ओली पछि हटेर रुदाँरुदै सत्ताको साँचो संसदमा बुझाइदिए, ओलीको जीवनमा लागेको यो कलंकको घाउ जतिपटक महंगो साबुन पानीले धोए पनि मेटिने सम्भावना छैन ।

आफैँभित्र रमाउँदै ओली
नेकपा गठबन्धनले यो निर्वाचनमा जति मत ल्यायो, त्यो सबै मेरै कारणले आएको भन्ने बुझाई छ ओलीको । आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने र अरुले पनि त्यागी र तपस्वी भनिदिउन् भन्न चाहने ओलीको अहमता र महत्वाकांक्षा यति उचाइमा पुगेको छ कि जसको अघि सगरमाथा पनि आफूलाई कमजोर महसुश गर्न पुग्छ । पहिलोपटक प्रधानमन्त्री हुँदा भारत सरकारले गरेको नाकाबन्दीका बारेमा यसो हेर्दा बोलेकै हुन् तर त्यति हुँदाहुँदै पनि ७ महिनाजति मानिसले दुःख भोग्न बाध्य हुनुप¥यो । सरकारले कुन देशसँग कस्तो सम्बन्ध राख्छ वा कसलाई फकाउँछ कि थर्काउँछ भन्ने जनताको चासोको विषय होइन, हाम्रो विषय भनेको सरकारबाट हामीले के पायौं भन्ने नै हो । त्यतिबेला नेपाली कांग्रेसले नाकाबन्दी भन्ने शव्द नै उच्चारण गरेन । उसले छेकवार, अवरोध, असहज र अन्य भाषाले नाकाबन्दीलाई परिभाषित गर्दाको परिणाम अहिले भोगिरहेको छ ।

तर एकदिन कुनै राम्रो काम गर्दैमा त्यसपछि गरेका गलत क्रियाकलापलाई पनि पुरानै कामले टाल्न सम्भव छैन । एउटा दुइवटा काम ओलीले गरेका होलान्, त्यसको खुलेरै प्रशंसा गर्नुपर्छ । तर राष्ट्रघात र जनघाती कामको जस्ताको त्यस्तै व्याख्या र विश्लेषण गर्न सकेनौं भने हामी मानिस भएर बाँच्नुको पनि अर्थ छैन ।

ओली विरामी छन्, उनीप्रति सहानुभुति राख्ने यो बेला हो । तर राज्यकोषबाट यति धेरै खर्च उनको नाममा भइसक्दा पनि उनी न त जनतालाई राम्रो सम्वोधन गर्न सक्छन्, न त मेरो ज्यानलाई सहज छैन । त्यसैले म सरकारको नेतृत्व गर्न नसक्ने भएकाले विकल्प नै दिन्छु भन्छन् । नेताहरु पद र पैसाका लागि मरिहत्ते गर्छन्, देशको लागि दिनुभन्दा जति पाइन्छ देशबाट लिनु नै उनीहको ध्यान हुन्छ । यो हामीले विगतदेखि अहिलेसम्मका इतिहासलाई हेर्दा बुझेकै छौं । ओलीमात्र होइन, उनले आफ्ना वरिपरि घुम्ने सबैलाई आफूजस्तै छुच्चो, उखाने र तमासे बनाएका छन् । सत्य बोल्नेलाई पाखा लगाइएको छ, जसले तपाई विश्वकै राम्रो प्रधानमन्त्री हो, न भुतो न भविष्य भनेर विहान दिँउसै बालुवाटार गएर चाकडीपूर्ण शव्दको वर्षा गर्न जानेको छ, उसैले पद, पैसा र प्रतिष्ठा कमाएको छ ।

वकालतमा क्षमता
ओलीलाई सामान्य प्रतिभाका धनीका रुपमा मात्र हेरियो भने कमजोर मूल्यांकन हुन्छ । उनलाई कुनै पनि ज्ञानको कमी छैन भने फरक पर्दैन । यसको पुष्टि गर्नका लागि टाढा जानुपर्दैन । आफू समस्यामा परेपछि त्यसलाई बचाउन उनी हरेक कुराको खुलेरै वकालत गर्छन् । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार सबै ठाउँमा सम्वन्धितलाई जिम्मेवारी दिएको छ । तर उनी त्यसलाई वेवास्ता गर्दै उसको पनि जिम्मा आफैं लिन्छन् र फट्टै बोलिदिन्छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने काम पनि आफैं गर्छन् । सबै काम आफैं गर्ने भए विवादका बीच सबैतिर आफ्ना मान्छे नियुक्त गर्दै किन अरुलाई जागिर खुवाउनु ? संविधान नै संशोधन गरेर आफूलाई मन परेको ठाउँमा मेरो कार्यकालभरि प्रधानमन्त्री नै अध्यक्ष वा प्रमुख हुन्छ भन्ने बनाए भइगयो नि । रविन्द्र अधिकारी पर्यटनमन्त्री भएका बेला आएको वाइडबडीको अनियमिततामा पनि ओलीले बचाउ गरे । अख्तियारले बोल्नुभन्दा अघि नै उनले अधिकारीले अनियमितता नगरेको भन्न भ्याए । अरु मन्त्रीले पनि ब्रम्हलुट गरेका छन्, राज्यकोष सकेका छन् । तर पनि उनी चुपचाप छन् । न त उनीहरुलाई कारवाही गर्छन्, न त गलत गरिस् नै भन्छन् । यसरी जसलाई जे पनि गर्न छोडिदिएपछि भएको बबण्डरको जिम्मा लिन ओली तयार छैनन् । उनले नै पैसा कमाउ र मेरो भागमा पनि छुट्याइदेउ भने पनि तैं चुप मै चुप भनेको पनि यही भनेर बुझ्न टाढा जानु पर्दैन ।

सरकार दुई तिहाइको छ भनिन्छ । तर सरकारलाई समर्थन दिने र समर्थन फिर्ता लिनेको ओहोरदोहोर भइरहने हुनाले सरकार बलियो कि कमजोर भन्ने बुझ्न पनि संकट छ । नेकपाको प्रतिनिधिसभामा २ सय ७५ मध्ये १ सय ७४ सिट छ । यो दुई तिहाई होइन, आवश्यक संख्या पुग्न अझै ७ मत चाहिन्छ । संसदीय प्रक्रियामा अर्को पार्टीको सांसद सहजै ढंगले आफूसँग ल्याउनु चानचुने कुरा होइन । हिजो अरु पार्टीले सघाउँदा दुई तिहाई पुगेको थियो तर आज भने सरकार आफ्नै पार्टीका कारण संकटमा छ । प्रधानमन्त्रीलाई राजीनामा दिनका लागि पार्टीभित्रबाट दवाव आइरहेको छ । तर ओलीले त्यसलाई पेलेरै लगेका छन् ।

कुनै पनि हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्षसमेत नछोड्ने अडानमा रहेका ओली आफ्नो वर्तमान सत्ताको जागिर बचाउन जे गर्न पनि तयार छन् । उनले आफ्नो कारणले पार्टी यो हैसियतमा पुगेको भनेर पटकपटक आफ्नै गुणगान गाइरहेका छन् । ओलीप्रति त्यतिबेला अलिकति बढी विश्वास थियो होला । तर अहिले विश्वासको सुइरो घटेर माइनसमा आउँदा पनि उनले त्यसलाई बुझेका छैनन् । सरकार सञ्चालनमा देखिएको असक्षमता अनि विपक्षीमाथि मात्र नभएर हरेक दिन जनतामाथि लगाउने धारे हातले तत्कालका लागि ओलीलाई केही फरक नपर्ला । तर कालान्तरमा भने त्यसको फल नमिठो हुने निश्चित छ ।

यो सरकार नेकपाको हो भन्नेमा नेताहरु पनि विश्वस्त हुन सकेका छैनन् । पार्टीका अर्का अध्यक्ष पनि ओलीको क्रियाकलापमा सन्तुष्ट छैनन्, बेलामौका बोल्छन् । तर पनि सुनवाई नहुने भएकाले बोलेर व्यर्थैैमा नदुखेको टाउको दुखाउन छोडिसकेका छन् । ओली र प्रचण्ड दुवैको हैसियत उही भएकाले कोही पनि अध्यक्ष छोड्न तयार भएनन्, यसको अर्थ दुवैजना पदका लागि भोका छन् भन्ने प्रष्ट बुझ्न सकिन्छ । एकता घोषणा भएको दिन ओलीले भनेका थिए, एउटै जेटका दुइजना पाइलट तर जेटमा दुइजना पाइलट हँुदैनन् भन्ने बुझेनन्, अरु पछौटेहरुले पनि हो हो भनेर उल्टै उचालिदिए र उनी धुरीमै पुगे । को पाइलटकोृ भूमिकामा कोही पनि बस्न चाहेनन् । तर अहिले जेट बिमान दुर्घटनामा पुगेको छ, विमान दुर्घटनामा पर्दा कसैको पनि ज्यान जोगिँदैन भन्ने बुझ्नुपर्ने न्यूनतम् कुरा नै बुझेनन् कसैले ।

यो बेला भनेको सरकारले राम्रा काम गरेर देखाउने अवसर हो । तर गर्नुपर्ने काम नगर्ने अनि नगर्ने काम जति सबै गरेर जनतालाई बाध्य भएर मेरो पक्षमा समर्थन गर नत्र तँलाई जे पनि गर्न सक्छु मेरो सरकार छ । मसँग साधान र स्रोत छ भनेर धम्क्याउने नेकपा र त्यसका पनि प्रमुख चालक ओलीका लागि अबको राजनीति अवसरभन्दा पनि चुनौतीको घेरामा अघि बढेको छ । स्वास्थ्यका कारण कुनै दिन तलमाथि भए एउटा राम्रो मान्छेको अवसान भयो, यो चाँहि देशका लागि अपूरणीय क्षति भयो भन्ने वातावरण बनाउन्, प्रधानमन्त्री ओलीलाई यही शुभकामना ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...