नेकपामा ‘एक व्यक्ति, एक पद’ को अवधारणामा छलफल, स्थायी समितिमा अवधारणा पेश हुने

Oli prachanda vet

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक व्यक्ति, एक पदको अवधारणामा छलफल सुरु भएको छ ।
छलफल २५ गते बस्ने भनिएको स्थायी समितिको बैठक तयारीका लागि भएको थियो । स्थायी समिति बैठकमा कस्ता कस्ता एजेण्डा प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली प्रचण्डको छलफलमा ओली पूरै कार्यकाल प्रधानमन्त्री बन्ने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी सञ्चालन गर्ने सहमति भएको नेकपाका एक सचिवालय सदस्यले बताएका छन् ।

पार्टीमा एक पद एक व्यक्तिको अवधारणा अनुसार स्थायी कमिटी बैठकका लागि प्रचण्डले प्रस्ताव तयार पार्ने भएका छन् । ओली र प्रचण्ड बीचको छलफलपछि प्रस्ताव तयार पार्नका लागि महासचिव विष्णु पौडेलले सहयोग गर्नेछन् । प्रचण्डले शनिबारको सचिवालय बैठकको भावनाअनुसार प्रस्ताव तयार पार्नेछन् ।

नेकपामा वरिष्ठ नेता माधवकुमार नेपालले लामो समयदेखि ‘एक व्यक्ति, एक पद’को कुरा उठाउँदै आएका छन् । तर मंसिर ४ गते ओलीले सरकार र प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी सञ्चालन गर्ने सहमति कार्यान्वयन हुन सकेको थिएन । कार्यविभाजनका विषयमा पनि आउँदो सचिवालय र स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ ।

प्रतिकृया दिनुहोस