पाल्पाका सांसद राना भन्छन्, पाल्पामा गौतमलाई ‘नो इन्ट्री’

Dal bdr rana palpa

बुटवल । शनिबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समय मिलाएर प्रतिनिधि सभा सदस्य बनाउन निर्णय गर्यो ।

त्योबेलासम्म गौतम भैँसेपाटी अर्थात् प्रचण्ड–नेपाल खेमामा थिए । दिनभरको प्रयासपछि उनी ओली खेमा अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली गुटमा पुगे । त्यहीको ‘उपहार’ थियो प्रतिनिधिसमा लैजाने निर्णय ।

गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गराउने मुख्य भुमिकामा थिए महासचिव विष्णु पौडेल । उनले गौतमलाई पाल्पा क्षेत्र नं. १ मा उपनिर्वाचन गराएर प्रतिनिधिसभा सदस्य बनाउने गरी गौतमलाई ओली खेमामा आउन मञ्जुर गराएका थिए ।

पाल्पा क्षेत्र नं. १ मा गत प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन एमालेबाट दलबहादुर रानाले आफ्नो क्षेत्रबाट आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय घिमिरेलाई ८ हजार ५ सय ५६ मतले पराजित गरेका थिए । अर्थात् रानाले ३२ हजार ५ सय ४९ मत प्राप्त गरेका थिए भने घिमिरेले २३ हजार ९ सय ९३ मत पाएका थिए । यो भारी मतान्तर पनि हो ।

अहिले यही क्षेत्रमा पार्टी उपाध्यक्ष गौतमको आँखा परेको छ । क्षेत्र नं २ मा तत्कालीन नेकपा एमालेका सोमप्रसाद पाण्डे सांसद छन् । यहाँ गौतमको आँखा परेको छैन । अझ भन्ने हो भने त महासचिव पौडेलको पनि आँखा पर्ने सम्भावना कम छ ।

सचिवालयको निर्णयपछि उकुसमुकुस बनेका रानाले राती १२ बजेर ४ मिनेट जाँदा सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टीसँग आफुसँग कुनै छलफल नै नगरेको भनेर आक्रोस पनि पोखे । ‘बैठकमा र सम्बन्धित कसैसँग पनि छलफल र चर्चा नै नभएको बिषय ‘बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको’ भन्ने समाचार झूठो, भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छु’ उनको स्टाटसको एउटा अंश हो यो ।

वास्तविकता के हो त ? राना भन्छन्, ‘मसँग न पार्टीले कुनै छलफल नै गरेको छ, न त्यो सम्भव नै छ ।’ उनको भनाईको अर्थ पार्टी विभाजनलाई रोक्ने वहानमा कसैलाई सोध्नु पथ्र्याे तर उनलाई सोधिएन । उनी पार्टी एकताको पक्षमा छन् । अर्थात् शनिवार ‘उपयुक्त’ निर्णय नभएको भए नेकपा फुट्ने निश्चित थियो । सचिवालयको निर्णय भने सही भएको उनको निष्कर्ष छ ।

सांसद राना तत्कालीन एमाले विभाजन हुँदा बामदेव गौतम र सीपी मैनालीकै पक्षमा लागेर नेकपा मालेमा गएका थिए । पछि गौतमसँगै पुनः एमालेमा फर्किएका थिए । लामो समय गौतमको नजिकका सांसद राना पूर्वभूमिसुधार मन्त्री पनि हुन् । सांसद राना अघिल्लो महाधिवेशनताका नेता गौतमसँगै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहमा पुगेका थिए ।

त्यही भएर पनि रानालाई सजिलै फकाउन सकिन्छ भनेर पाल्पामा गौतमको ‘इन्ट्री’ गराउने भनियो । तर रानाले आफुले कुनै पनि हालतमा पाल्पा नछाड्ने जिकिर गरे । ‘मैले पाल्पा छोड्नुपर्ने कारण के छ र ?’ उनले निशान न्युजसँग भने, ‘जनताले मलाई विश्वास गरेर मत दिएका छन् । अहिले म पाल्पा छाड्नेवाला छैन ।’

उनले पार्टी उपाध्यक्ष गौतम प्रतिनिधिसभा सदस्य बन्न उपयुक्त भए पनि पाल्पामा ‘इन्ट्री’ सम्भव नभएको बताए । ‘म यो विषयमा धेरै कुरा बोल्दिनँ, अहिले बोल्न उपयुक्त पनि छैन’ उनले निशान न्युजसँग भने, ‘पाल्पामा उहाँ (गौतम) लाई भित्र्याउने विषयमा जनतालाई सोध्नुपर्छ । तर, जनताले त्यति सजिलो मान्छन् जस्तो मलाई लाग्दैन ।’

प्रतिकृया दिनुहोस