ओली र नेपालको ‘पावरसियरिङ्’ मा मिलेन कुरा, मंगलबार सचिवालय बैठक बस्ने

Oli nepal

काठमाडौं । चासोपूर्वक हेरिएको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसमूहका नेताहरुबीच छलफल सकिएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको कोटेश्वरस्थित भएको वार्तामा ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी भएका थिए । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए ।

अध्यादेश प्रकरणपछि पार्टीभित्र अफ्ठयारोमा परेका प्रधानमन्त्री ओलीले नेता नेपाल समूहलाई फकाउने कोशिस गरेका थिए । त्यसका लागि ठोस प्रस्ताव ल्याउन नेपाल समूहको माग थियो । आजको छलफलमा ‘पावरसियरिङ्’मा सहमति नजुटेको एक नेताले बताए ।

तर, सचिवालय बैठक बस्ने विषयमा भने दुवै समूहका नेताबीच अनौपचारिक सहमति भएको छ । बैठकमा सहभागी नेपाल समूहका नेता रघुजी पन्तले मंगलबार सचिवालय बैठक बस्ने सहमति भएको बताएका छन् । उनका अनुसार मंगलबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठकबारे निर्णय गर्नेछ ।

पछिल्लो राजनीतिक घटनामा ओली–नेपालले निर्णयक वार्ता गर्ने भनिएको थियो । तर, कोटेश्वरस्थित एक सरकारी भवनमा करिब तीन घण्टा बसेको बैठकमा कुनै सहमति भने जुट्न सकेन । बैठकमा नेता नेपालले एक व्यक्ति, एक पदको नीति दृढतापूर्वक लागु गर्ने अडान लिएपछि कुनै समहति जुट्न नसकेको हो ।

अघिल्लो हप्ता मन्त्रिपरिषद बैठकले २ वटा विवादित अध्यादेश ल्याएपछि नेकपामा आन्तरिक विवाद चर्किदै गएको छ । पार्टी भित्रकै नेताहरुको दवावका कारण सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी २ विवादित अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै अध्यादेश खारेज गरिसकेकी छन् ।

नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले तत्काल स्थायी कमिटीको बैठक माग गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई पत्र नै बुझाइ सकेका छन् ।

प्रधानमन्त्री ओली तत्काल स्थायी कमिटी बैठक बोलाउन चाहँदैनन् । ओली बाहेक अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेताहरु भने तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने पक्षमा छन् ।

 

 

प्रतिकृया दिनुहोस