आन्तरिक विवाद मिलाउन नेकपाको गुटगत बैठक जारी, आन्तरिक भेटघाटमा ब्यस्त

Kp oli prachanda madhab nepal

काठमाडौं । अप्रत्यासित रुपमा दुई वटा अध्यादेश आएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ठूलो तरंग नै ल्याइदिएको छ । यतिसम्म की सोही अध्यादेशका कारण सरकार नै धरापमा परेको छ ।

सरकारले ल्याएका दुई अध्यादेश नेकपाकै सचिवालय र अन्य दलहरुबाट दवाव आएपछि फिर्ता भइसकेको छ । तर, अध्यादेश फिर्ता भएपछि झन नेकपाको राजनीतिक यात्रामा उतारचढाव आएको छ ।

अहिले नेकपाका ठूलो शक्ति प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लागेको छ । २० जना स्थायी समिति सदस्यहरुले स्थायी र केन्द्रिय समितिको बैठक बोलाउन लिखित रुपमै माग गरेका छन् । त्यसले झन नेकपा भित्रको विवादलाई सडकसम्मै ल्याइदिएको छ ।

ओली इतरका अधिकांस नेताहरु ओलीको राजीनामाको पक्षमा देखिएका छन् । आफु इतरका नेताहरु आफ्नो विरुद्धमा गएपछि प्रधानमन्त्री ओलीको दौडधुप पनि निक्कै बढेको छ । आइतबार मध्यराती राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका प्रधानमन्त्री ओली अहिले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरिरहेका छन् । ओलीले शक्ति सन्तुलनमा सहमति जुटाउनका लागि नेपाल निवास कोटेश्वरमा निर्णायक वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्तापछि दुवै पक्षको निर्णायक वार्ता कोटेश्वरमा सुरु भएको हो । वार्तामा नेकपाभित्रको शक्ति बाँडफाँटका विषयमा छलफल सुरु भएको छ ।

नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने माग गरेको छ भने ओली पक्षले अन्य विभिन्न विकल्प प्रस्तुत गरेको छ । नेकपामा उत्पन्न पछिल्लो गतिरोधका विषयमा नेताहरुबीच दुई पक्षीय तथा समूहगत छलफलहरु जारी छन् ।

वार्तामा ओलीपक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी छन् । त्यस्तै नेपाल पक्षबाट नेपालसँगै नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघु पन्तलगायतका नेताहरु सहभागी छन् ।

यसैबीच पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता झलनाथ खनालबीच पनि सोमबार छलफल भएको छ । वरिष्ठ नेता खनाल अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।

अध्यक्ष प्रचण्ड र नेता खनालबीच पार्टीको स्थायी कमिटी बैठकका विषयमा छलफल भएको जनाइएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक बोलाउन नचाहेको अवस्था चाल्ने कदमबारे पनि दुई नेताबीच छलफल भएको बताइन्छ ।

प्रधानमन्त्री ओलीको ‘निर्देशन’मा साबिकको समाजवादी पार्टी फुटाउनका लागि पूर्व राज्यमन्त्री समेत रहेका डा सुरेन्द्र यादवलाई अपहरणको शैलीमा महोत्तरीबाट काठमाडौं पुर्‍याएको विषयलाई लिएर नेकपामा विवाद बढेको छ ।

नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले तत्काल स्थायी कमिटीको बैठक माग गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई पत्र नै बुझाइ सकेका छन् ।

प्रधानमन्त्री ओली तत्काल स्थायी कमिटी बैठक बोलाउन चाहँदैनन् । ओली बाहेक अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेताहरु भने तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने पक्षमा छन् ।

प्रतिकृया दिनुहोस