गरिवीमाथि खेलवाड : ४ केजी राहतमा सेल्फीको मस्ती !

Dipa nepali 6

डिसेम्बरको अन्त्यतिर चीनबाट फैलिएको कोभिड–१९ को महामारी कहिलेसम्म लम्बिन्छ र यसको नियन्त्रण कहिले होला भनेर कसैले पनि ठ्याक्कै अनुमान लगाउन सक्ने अवस्था छैन । भोली कस्तो परिस्थिति आउन सक्ला भनेर कसैलाई पनि थाहा छैन । तर यो निश्चित छ कि कोभिड–१९ ले मानव जातिलाई केहि न केहि पाठ भने अवश्य सिकाएर जाने पक्का छ ।

अहिलेको वर्तमान समयमा मानवका हरेक क्रियाकलापले गर्दा प्रकृतिको जीवन चक्रमा नै सबैभन्दा ठूलो असर परिरहेको छ । त्यसैको असरले पनि होला विश्वमा यस्ता खालको नयाँ–नयाँ रोेगका भाईरसको जन्म भइरहेको छ । जसको उपचार र निर्मुल पार्ने खालको भ्याक्सिन नै छैन । यद्यपि विश्वका वैज्ञानिक र चिकिश्चकजगत अहोरात्र खटिरहेको छन् । यतिखेर मानवजगत नै निक्कै आकुलव्याकुल र उकुसमुकुस बनिरहेको छ । कोभिड–१९ को सबैभन्दा बढि प्रभावमा शक्ति सम्पन्न राष्ट्रहरू नै भएका छन् । यो महासंकटलाई कुनै एउटा राष्ट्रले र शक्तिले समाल्न सक्ने अवस्था छैन ।

यतिखेर सम्पूर्ण मानवजाति कुनै देश र भुगोल नभनी एक ठाउँमा उभिएर कोभिड –१९ को प्रत्यक्ष सामना गर्नु नै अन्तिम विकल्प बनेको अवस्था छ । त्यसो त कोरोनाले कुनै धनी र गरिव भनेर छुट्याएको छैन । तर यस्तो महामारीको संकटले सबैभन्दा बढि मारमा र चोट भने गरिव निमुखा, दैनिक ज्यालादारी मजदुर र विपन्न वर्ग परेका छन् ।

काठमाडौं उपत्यकासहित देशका साना ठूला शहरहरू सुनसान बनेका छन् । चरा चुरूंगीहरू मस्तले आकाशमा उडिरहेका छन् । शहरले ठूलो शास फेर्न पाएझै भएको छ । नेपालमा पनि कोभिड–१९ को चपेटामा परेको छ । अहिलेसम्म ३१ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । सुखद कुरा ३ जना निको भएर पनि आफ्नो घर गइसकेका छन् । फैलिँदो संक्रमणलाई रोक्न पूरै देश लकडाउनमा छ । नेपालमा पनि कोभिड–१९ बाट बच्नका लागि गत चैत्र ११ गतेदेखि पूरै लकडाउन गरिएको छ । झण्डै १ महिना करिव हुन लागि सकेको छ लकडाउन गरिएको । यसको प्रभावले गर्दा कति पैदलयात्रीहरू अझैँ बाटोमा घर पुग्ने आशले सयौं किलोमिटरको दुरी पार गरिरहेका दृष्यले सबैको मन भारी बनाइदिएको छ । भोकले मर्नुभन्दा गाउँ जानु उत्तम ठानेर सैयौं नागरिक प्रहरीको आँखा छल्दै सडकको मिटर नापिरहेका छन् ।

कोभिड–१९ बाट समस्यामा नपरून भनेर तत्काल विभिन्न खालका राहत तथा रोकथामका कार्यक्रमहरू अगाडि सारेको छ । विडम्वना त्यस्ता राहत जो पीडित हुन्, जो भोकले छटपटाइरहेका छन्, उनको हातमा भन्दा पनि हुनखाने पहुँचवाला र नेताका नजिकका मान्छेले पाइरहेका छन् । अझ आफ्ना वडाबासीलाई दिने नाममा घरानीय ब्यक्तिको हातमा राहत थमाइदिएका उदाहरण प्रसस्त देखिएका छन् । जो नेताका आफ्नो भोटर हुन् । भोली यसैलाई आधार मानेर भोट माग्न पनि सजिलो हुनेछ । राजनीतिक नेतृत्व र जनप्रतिनिधि यही काममा लागेको दृष्य सबैले देखेका छन् ।

भावनात्मक रूपले राहत दिनेहरू पनि छन् । उनीहरूलाई सलाम गर्नैपर्छ । तर, यहाँ राहत दिने वहानामा ४ केजी चामल, आधा केजी दाल र एक केजी नुन दिएपछि मोर्डन तरिकाले सेल्फी हान्ने र त्यसलाई सामाजिक सञ्जालमा पोष्ट गरेर चर्चा कमाउनेहरूको कमी छैन । लम्बिँदै गएको लकडाउनले जनजीवन कष्टकर बनिरहेको छ । यो बेला श्रमिक वर्ग भोकले छटपटाउन थालेका छन् । तर उनीहरूलाई राहतको नाममा सानो पोको दिएर उनीहरूको पीडालाई फेसबुकको वालमा पोखी दिँदा पीडितको मन कस्तो भएको होला ? उनीहरूको अपमान भएको ख्यालै नगर्ने जमात बढेको छ । केही राहतदातालाई राहत दिनु मजाकझै बन्छ । जुन जायज छैन । विडम्बना ! यस्तो खालको हर्कत कसैले रोक्नेवाला छैन । फोटो हाल्नु नै गल्ति नै चाहीँ होईन । तर, वास्तविक पीडित र गरिव छन् झन पीडित बनिरहेका छन् । हामीले यस्तो अवस्थामा उनीहरूको खिल्ली उडाउनु राम्रो होइन । राहत वितरणका नाममा सानो पोको दिएर उनीहरूको तस्विर सार्वजनिक गरिदिनु उनीहरूको मानवअधिकारको हनन् गरिनु कदापि राम्रो होइन ।

अहिले नगरपालिका र व्यक्तिबाट वितरण गरिएका राहतले उनीहरूको एक दुई छाक मात्र टरेको छ । काठमाडौं उपत्यकाभित्रका वडाहरूले दिने ५ केजी चाम, एक केजी नुन, एक केजी दाल र ५)६ दाना आलुले मजदुरका दैनिकी टर्दैन । लकडाउन बढ्दै गएका कारण राहतदाताले कम्तीमा १०/१५ दिनलाई पुग्ने राहत वितरण गरिने हो भने पक्कै राहत लिनेलाई पनि मनमा शान्ति मिल्थ्यो होला । तर राहत दिएको नाटक गरेर ठूलो प्रचार गर्नु चाँही गलत छ । थोरै राहत प्रदान गर्ने अनि प्रसारप्रचार गर्ने नाममा उनीहरूका तस्विर सामाजिक सञ्जालमार्फत उनीहरूलाई सार्वजनिक गरिनु जायज हो की होइन ? यसरी तस्विर सार्वजनिक गरिदिँदा उल्टै गरिबको भावना र मर्ममाथि ठूलो असर त परिरहेका छैन ? यसतर्फ सोच्ने बेला भइसकेको छ ।

उनीहरूलाई राहतको नाममा सानो पोको दिएर उनीहरूको पीडालाई फेसबुकको वालमा पोखी दिँदा पीडितको मन कस्तो भएको होला ? उनीहरूको अपमान भएको ख्यालै नगर्ने जमात बढेको छ ।  

यो बेला भनेको हामी सबैले सकारात्मक कुरामा जोड दिँदै नकारात्मक कुप्रचारकालाई बेवास्ता गरेर अगाडि बढ्नुपर्छ । यतिखेर मानवीय सम्वेदनालाई भुन्नु हुन्न । साँझ बिहान हात मुख जोड्न ज्यालादारी गरेर जोहो गर्नुपर्छ, उनीहरूको अवस्था कस्तो होला ? लकडाउन शुरू भएयता कसरी साँझ बिहानको छाक टारिरहेका होलान् ? सरकारले यतातर्फ ध्यान दिनुपर्छ । कसैले पनि भोकमरीबाट मर्न नपरोस् । भोकमरी आउन नदिन सरकारले पूर्व तयारी गर्नुपर्छ । सरकारले दिने राहतको कार्यक्रमलाई निष्पक्ष रूपले वास्तविक पीडितको हातमा दिनुपर्छ । समयमै राहत नदिने हो भने भोकभोकै मर्नुपर्ने अवस्था आउन सक्छ ।

यो महामारीको समय हो । विपतको समय हो । यस्तो समयमा को कस्को नजिक, कुन पार्टी वा संगठन भन्ने दृष्टिकोणले नहेरी साझा भावना राख्नुपर्छ । यो समस्या र कहरलाई सबै मिलेर जित्नुपर्छ । सरकार एक्लैले पनि यो महामारी टार्न सक्दैन । यो मौकामा सस्तो लोकप्रियताको लागि सरकारबाट आएको राहतमा पनि तेरो मेरो गर्नुहुदैन । सबैलाई एउटै व्यवहार गरिनुपर्छ । हरेक स्थानीय सरकारलाई जनता कुनै समस्यामा नपरून भनेर तयारी अवस्था राख्नुपर्छ ।

संघीय सरकारले ल्याएका आपतकालीन कार्यक्रमहरू निर्वाद रूपमा स्थानीय जनताको पहुँचमा छिटै पु¥याउनुपर्छ । होईन भने यो संकटका बेला मौकामा चौका हान्नेहरू जुर्मुराउँदै आतंक मच्चाउन सक्छन् । यस्तो हुनबाट सचेत बन्दै त्यस्ता क्रियाकलापलाई रोक्नुपर्छ । यो बेलामाा दिलैदेखि गरिएको सानो सहयोग र सान्त्वनाले पनि धेरै ठूलो गुण लाग्नसक्छ । सबैले यो संकटको घडीमा स्नेह र आत्मियता साट्न सक्नुपर्छ । डेरामा बस्ने र विद्यार्थीका समस्यालाई पनि उत्तिकै ध्यान दिनुुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...