‘म प्लाज्मामा एन्टिबडी यो समाजलाई डोनेट गर्न चाहन्छु’

Prasidhi shrestha 6

म घर आइसकेपछि आइसोलेसनमा बसेको थिएँ । घर आएको चौथो दिनमा मेरो भियतनामी साथीले आफूलाई कोभिड–१९ पोजेटिभ देखियो भनेको भएर म पनि परीक्षण गरिहालौं भनेर त्यही दिन नै म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आएको थिएँ ।

त्यसबेला मेरो खासै लक्षणहरु देखिएको थिएन । स्वाब निकालिएको दुई दिनपछि रिपोर्ट आउँदा म पनि कोभिड पोजिटिभ देखिएँ । यसरी म पनि नेपालकै दोस्रो कोभिड–१९ (कोरोना) पोजेटिभ केश हुन पुगें ।

२७ दिनसम्म अस्पतालमा बसें । मेरो रिपार्ट आउने बित्तिकै मलाई सजिलो पार्न यहाँका डाक्टरहरुले घरमा एम्बुलेन्स पठाइदिनुभएको थियो । म आएकै दिन डा। अनुप बास्तोला लगायतले स्वागत गर्नुभयो र चिन्ता नगर्नुस् ठिक हुन्छ भनेर प्रेरणा दिइरहनुभयो ।

त्यही दिनदेखि यहाँका डाक्टर, नर्स सबैले व्यावसायिक रुपमा मात्रै हैन मेरो उपचारमा व्यक्तिगत रुपमा पनि त्यतिकै खटिएर लाग्नुभएको छ । अस्पतालको रेखदेखमा म एकदमै सन्तुष्ट छु । विशेषगरी डा। सागरराज भण्डारी र डा। बास्तोलालाई विशेष धन्यवाद भन्न चाहान्छु ।

मलाई एक दिन खोकी लाग्दा त्यसको ४–५ घण्टामै मेरो छातीको एक्सरे पनि भैसकेको थियो । त्यसैले मलाई अस्पतालमा केही कमी महसुस भएन ।

मलाई टेकु आएको एकदुई दिनपछि बल्ल लक्षण देखिन थालेको हो । मलाई श्वास फेर्न अप्ठारो भएको थियो । पेटमा दुखाइ, खोकी लाग्थ्यो र थकाई चाँही एकदम चाँडै लाग्थ्यो ।

म सेल्फ आइसोलेसनमा बसेकाले अरुलाई फैलन पाइनँ । तर धेरै मान्छेहरु आइसोलेसनमा बस्न पाएका छैनन् । मसँग जे सुविधा थियो त्यो उहाँहरुसँग थिएन होला । जहाँ आइसोलेसन तथा अन्य सुविधा पुगेको छैन त्यहाँ व्यवस्था गरिदिन सरकारलाई अनुरोध गर्छु ।

सेल्फ आइसोलेसन महत्त्वपूर्ण हो भन्ने मेरो केसबाट पनि देखियो । म आइसोलेसनमा बसेकाले मेरो परिवारलाई नेगेटिभ आउनुभयो । सेल्फ आइसोलेसनमा बसेको थिएन भने मेरो परिवारलाई पनि फैलन्थ्यो र उहाँबाट अरु धेरैलाई पनि फैलन सक्थ्यो । यदि तपाई बाहिरबाट आउनुभएको छ भने अहिले सरकारले परीक्षण गर्ने सुविधा दिएको छ, परीक्षण गरिदिनुहोला ।

मिडियाको साइडबाट सकेसम्म यो महामारीको बेला कोरोना भाइरस रोगसम्बन्धी गलत सूचना सम्प्रेषण नगरिदिनुहोला । मिडियाले भयावह फैलाइदिँदा लक्षण देखिएका मानिसहरु पनि परीक्षण गर्न आउनै डराउनुहुन्छ जस्तो लाग्छ । त्यस्तो मैले पनि महसुस गरेको थिएँ । मैले टेस्ट गराउँदा मेरोमा पनि नकारात्मक पोस्टहरु आइपुगेको थियो । त्यसबेला सत्य कुरा बोल्नुभएको पत्रकारलाई चाहिँ म धन्यवाद भन्न चाहन्छु ।

आफूलाई सकेसम्म बचाउनुहोला माक्स, ग्लोब्स, चश्मा लगाउनुहोला । सरकारले दिएका सुचनामा ध्यान दिनुहोला । धेरै हिँड्डुल यसबेला नभएको राम्रो । सेल्फ आइसोलेसनमा बस्नुहोला भन्ने सुझाव सबैलाई दिन चाहन्छु ।

अन्य संक्रमितलाई धैर्यताका साथ बस्नुहोला भन्न चाहन्छु । मेरो पनि यो एकचोटी ठिक भएको कुरो हैन । मेरो पनि लगातार परीक्षण गरेपछि नेगेटिभ आएको हो । केही समय लाग्ला तर केयर पुगिरहेको छ भने धेरै आत्तिनुपर्ने कुरो हैन । यसका लक्षणहरु नै मनलाई अत्याउने खाले रैछन् । श्वास फेर्न गाह्रो हुने लगायत लक्षणहरु भएपनि कृपया आत्मबल बढाउनुहोला । आफ्नो केयर गर्नुहोस् । ठिक चाहिँ हुनुहुनेछ ।

अब रिकभरी हुनु भनेको मैले मेरो लागि राम्रो मौका पाएको छु । मेरो रिकभरी भएसँगै प्लाज्मामा एन्टिबडी भएको भएर यो समाजलाई डोनेट गर्न पाउँछु । भविष्यमा कोही पनि कोरोनाको सिकिस्त बिरामी देखिए भने मैले डोनेट गरेको प्लाज्माले सहयोग गरोस्। जो जो निको हुनुहुन्छ, उहाँहरुलाई पनि सँगै डोनेट गरौं भन्न चाहन्छु ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...