कोरोनाको मारमा कुखुरापालन व्यवसाय, पलायन हुने अवस्थामा चितवनका व्यवसायी

5f54a13926d23 chicken

काठमाडौँ । वर्षाको समय भएका कारण तरकारीको मूल्य आकाशिएको छ तर यहाँ मासुका लागि उत्पादित ब्वायलर कुखुरा भने तरकारीभन्दा पनि सस्तो मूल्यमा बिक्री गर्न किसान बाध्य भएका छन् । तरकारीको मूल्य प्रतिकेजी रु एक सयभन्दा बढी छ । दुई किलोभन्दा बढी तौलको ब्वायलर कुखुरा किसानले रु एक सयमा पनि बिक्री गर्न नसकेको गुनासो गरेका छन् ।

कोभिड–१९ सङ्क्रमणका कारण देशभरका उद्योग व्यवसाय प्रायः ठप्प छन् । धेरै क्षेत्र यसको मारमा परेको छ । राज्यले कृषि र पशुजन्य उत्पादन ओसारपसार र बिक्री–वितरणमा रोक नलगाएको भए पनि ब्वायलर कुखुरा भने बिक्री हुन सकेको छैन । ब्वायलर कुखुरा उचित मूल्यमा बिक्री नहुँदा चितवनका किसान चिन्तित छन् । उनीहरु लागत मूल्यभन्दा निकै सस्तोमा कुखुरा बेच्न बाध्य भएको गुनासो गर्छन् ।

भरतपुर महानगरपालिका–६ इन्द्रपुरीका किसान विष्णु ढकालले बेच्ने अवस्थामा पुगेका कुखुरा लिन आफ्नो फार्ममा व्यवसायी नआएको गुनासो गरे । उनले भने, “कुखुरा पालेको ४५ दिन भयो, रु एक सयमा पनि बिक्री भएको छैन ।” आफ्नो गाउँका कतिपय किसानको ६० दिनसम्म पनि कुखुरा नउठेको उनले बताए । ४० देखि ४५ दिनमा कुखुरा बिक्री गर्ने उपयुक्त समय हो । ढकालले आफ्नो खोरमा एक हजार कुखुरा राखेका छन् । “रु ७० मा खरिद गरेर चल्ला राखेको हो, अहिले कुखुराको मूल्य नै रु एक सयभन्दा बढी छैन”, उनले भने, “दाना, औषधि र श्रमदान खेर गयो ।” “कुखुरा यतिकै फाल्न भएन, यो लटमा कम्तीमा पनि रु तीन लाख घाटा हुने निश्चित भयो”, उनले गुनासो गरे ।

भरतपुरका अर्का कुखुरापालक किसान प्रकाशबाबु खनालले ब्वायलर पालक किसानको अवस्था नाजुक रहेको बताए । “जिउँदो कुखुरा रु एक सयमा पनि बिक्री भएको छैन”, उनले भने, “किसान ऋणमा चुर्लुम्म डुबेका छन् ।” उनले बिचौलियाको बिगबिगी कायमै रहेको भन्दै कुखुरा लगेर भण्डारण गरिरहेको दाबी गरे । “किसानको बजारमा पहुँच छैन, बिचौलियाकै भरमा बेच्नुपर्ने बाध्यता छ, अनि कसरी मूल्य पाइन्छ ?”, उनको प्रश्न छ ।

खनालको खोरमा यतिबेला पाँच हजार ब्वायलर कुखुरा छन् । “हिजो गएको बुधबार मात्रै आफौँ रु एक सयमा चार गाडी कुखुरा बेचेँ ।” उनले भने, “रु एक सयमा पनि लैजान आनाकानी भइरहेको छ ।” एक किलो कुखुराको सरदर लागत मूल्य रु दुई सय पर्छ तर लागत मूल्यभन्दा आधा सस्तोमा बेच्नुपर्ने अवस्था आएको उनले बताए । कतिपय किसानले त रु ८० देखि ८५ सम्ममा पनि कुखुरा बेचेको खनालले बताए । “मैले कुखुरा पालेको १० वर्ष भयो, यति सस्तो मूल्यमा बिक्री भएको यो पहिलो पटक होला”, उनले अनुभव सुनाए । हरियो तरकारीको भन्दा पनि सस्तो मूल्य कुुखुरा बिक्री गर्नु परेको उनको भनाइ छ ।

नेपाल कुखुरा पालक किसान सङ्घका केन्द्रीय अध्यक्ष झनक पौडेल ब्वायलर पालक किसान निकै मारमा परेको बताउँछन् । उनका अनुसार कोरोनाका कारण शुरुमा लगाइएको लकडाउन खुल्ने समयमा कुखुराको भाउ ह्वात्तै बढ्यो । उनले भने, “चल्ला सस्तो थियो । लकडाउनले घरमै बसिरहेको अवस्था भएकाले धेरै किसानले कुखुरा राखे । अहिले ब्वायलरको उत्पादन बढ्यो । पुनः जिल्ला जिल्लामा गरिएका निषेधाज्ञाले बजार ठप्प भयो । किसानको खोरबाट कुखुरा उठेनन्”, उनले भने ।

लकडाउन खुकुलो भएपछिको एक महिना जिउँदो ब्वायलर कुखुराको मूल्य प्रतिकेजी रु २६० सम्म पुगेको अध्यक्ष पौडेलले जानकारी दिए । मूल्य राम्रो देखेर कतिपय किसानले कुखुरा राखेका कारण अहिले उत्पादन धेरै भएको उनको बुझाइ छ । उनले भने, “मागभन्दा उत्पादन धेरै भएको कारणले गर्दा अहिले आएर मूल्य घट्यो ।”

होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द भएका, विवाह, व्रतबन्ध लगायतका अन्य उत्सवहरु पनि घरको कोठामा सीमित भएका कारण पनि खपत घटेको अध्यक्ष पौडेलको भनाइ छ । कोरोनाको कहरले मुलुकको अरू क्षेत्र र व्यवसायलाई पनि मारमा पारेकै छ । तर यहाँका कुखुरापालक किसानहरु भने देशको अरु क्षेत्रभन्दा यो व्यवसायलाई बढी मार परेको बताइरहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...