नेपालमा मुद्रास्फीति ८.१९ प्रतिशत, यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक अवस्था

Nepal rastra bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति आठ दशमलव १९ प्रतिशत पुगेको छ । स‍रकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । यस्तै आयात ५.१ प्रतिशतले, निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४।७ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.१ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको बैंकको रिपोर्टमा उल्लेख छ ।

यसैगरी कुल विदेशी विनिमय सञ्चिति १,५९८ अर्ब ९० करोड र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको छ भने नेपाल सरकारको खर्च १३१ अर्ब १४ करोड र राजस्व परिचालन १४१ अर्ब ८ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ०.५ प्रतिशतले घटेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.० प्रतिशतले बढेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।


 

प्रतिकृया दिनुहोस