पार्टी एकताको बेला भएको सहमतिप्रति सबै इमान्दार हुन जरुरी छः अध्यक्ष प्रचण्ड

दायाँबायाँ गर्न खोज्यो भने त्यो नेपाल राष्ट्र र नेपाली जनताप्रति घात हुनेछ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताएका छन् ।

शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले सोमबार पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उनले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र परिमार्जन गर्नुपर्ने बताए ।

‘पार्टी एकतालाई सुदृढ गर्ने र बाँकी रहेका कामलाई टुङ्ग्याउने तथा भएका सहमति, समझदारीमा इमान्दारिसाथ उभिनुपर्छ’, अध्यक्ष दाहालले भने, ‘स्पष्ट मान्यता र सिद्धान्तअनुसार पार्टी एकता गरिएको हो । नेपाली जनताका अगाडि गरिएका बाचा कबोल हामी कसैले पनि बिर्सन हुँदैन । यसबाट कसैले दायाँबायाँ गर्न खोज्यो भने त्यो नेपाल राष्ट्र र नेपाली जनताप्रति घात हुनेछ ।’

माक्र्सवादको निर्देशन र पथप्रदर्शनमा समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यले दुई पार्टीबीच एकता भएको उल्लेख गर्दै उनले ठूला पार्टीबीचको एकताका क्रममा केही जटिलता देखिएको भए पनि एकताको मर्मअनुुसार अन्तिम रुप दिइने बताए ।

‘दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता गरेर ठूलो ऐतिहासिक र आसाधारण कामको शुरुआत गरिएको छ, सिद्धान्तहीन ढङ्गबाट पार्टी एकता गरिएको होइन । पार्टीको यस लक्ष्यलाई नबुझेर कतिपयलाई ‘अलमल’ हुनसक्छ’ अध्यक्ष दाहालले भने, ‘पार्टीले सामूहिक ढङ्गले राजनीतिक प्रतिवेदन तयार पार्दा हिजोका दुबै धारका वरिष्ठ नेताको सर्वसम्मतिमा दुबै पार्टीका उच्च निकायबाट पारित गरेर आगामी बाटो टुङ्ग्याइएको हो ।’

पार्टीको राजनीतिक प्रतिवेदनमा नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्न तत्कालीन अवस्थामा दुई पार्टीले खेलेको भूमिकालाई सकारात्मक ढङ्गबाट मूल्याङ्कन गरिएको उनको भनाइ थियो । अध्यक्ष दाहालले भने, ‘जनताको बहुदलीय जनवादको भूमिका होस् वा एक्काइसौँ शताब्दीको जनवाद तथा माओवादी जनयुद्धले खेलेको सकारात्मक भूमिकाको मूल्याङ्कन गर्दै अगाडि जानका लागि इतिहासका ती अनुभव, नीति, कार्यक्रमलाई परिमार्जन गरिनुपर्छ । यी विषयलाई विकसित गरेर जानुपर्छ भन्ने मान्यतासाथ हामीले पार्टी एकता गरेका हौँ ।’

शहीदका बलिदान, लाखौँ श्रमजीवी जनताले गरेको योगदान सबैलाई सम्मानित गर्दै स्थापित गर्न र बलिदानको आलोकमा अगाडि जानु नै सही क्रान्तिकारी बाटो भएको उनले बताए । अध्यक्ष दाहालले भने, ‘अहिले निराश हुनुपर्ने स्थिति छैन, शहीदको सपना पूरा गर्न सङ्कल्प गर्दै आफूलाई उद्देश्यबाट विचलित नहुने दृढता गर्नुपर्छ ।’

गतिशील, सिर्जनशील र बहुआयामिक व्यक्तित्वका रुपमा उदाएका खड्का वामपन्थी विचार र नेतृत्वको पक्षमा अगाध आस्था र विश्वास राख्ने व्यक्तिका रुपमा आफूले पाएको स्मरण गरे । अध्यक्ष दाहालले भने, ‘पार्टीको विचार र नेतृत्वको रक्षाबिना आन्दोलनले सकारत्मक परिणाम निकाल्न नसक्ने खड्काको निष्कर्ष थियो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...