नेकपा अध्यक्षद्वय किन गर्दैछन् पोलिट्ब्युरो गठनमा आनाकानी ?

ओलीसँग नजिक रहेर थापा पार्टी सन्तुलनको हिसाबकिताब गर्नेदेखि खानपिन गर्ने गर्छन्

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किन पोलिट्ब्युरो गठनमा ढिलाई गरिरहेका छन ? भन्ने प्रश्न उब्जिएको छ ।   घोषणाको अन्तिम क्षणमा आएर रोकिएको नेकपाको पोलिट्ब्युरो गठन थप पेचिलो बनेको छ । बर्चश्वको लडाइँकाबीच विधानमा व्यवस्था भएको कमिटी गठन गर्न पनि नेताहरु आनाकानी गरिरहेका छन् ।

नेकपाका उच्च स्रोतका अनुसार, पोलिट्ब्युरो गठन नगर्ने विषयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै ठाउँ पुगेका छन् । नेकपा सचिवालयका एक सदस्यका अनुसार अध्यक्ष ओली यसै पनि पोलिट्ब्युरो गठनको पक्षमा थिएनन् । धेरै कमिटी हुँदा धेरै बैठक बोलाउनु पर्ने झन्झटले गर्दा ओलीले सुरुमै पोलिट्ब्युरो गठन प्रस्तावमाथि प्रश्न उठाएका थिए ।

गत मंसिर २९ देखि पुस १२ गतेसम्म बसेको स्थायी समिति बैठकमा पोलिट्ब्युरो गठनको एजेन्डा नै नल्याइएकोमा बरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुले विरोध गरेपछि यो एजेन्डाले प्रवेश पाएको थियो । त्यसयता पटकपटक यस विषयमा बैठक बसेर नाम तय भए पनि सम्भावित नयाँ समीकरणका कारण पोलिट्ब्युरो गठन नहुने सम्भावना बढ्दै गएको नेताहरू अनौपचारिक कुराकानीमा बताउँछन् ।

अध्यक्ष ओलीले पोलिट्ब्युरो गठनमा रुचि नदिनुका पछाडि आफू पक्षधरको संख्या कम हुनु प्रमुख कारण रहेको धेरैको बुझाइ छ । त्यस्तै बरिष्ठ नेता माधव नेपालले पोलिट्ब्युरो गठनमा विशेष जोड दिनुका पछाडि चाहिँ हिसावकिताबमा आफु माथि परेकाले हो ।

सामान्यतः पोलिट्ब्युरोमा केन्द्रीय सदस्यहरुमध्ये बरिष्ठताका आधारमा चयन गरिने भएकाले त्यसबाट नेपाल पक्षलाई फाइदा छ । पूर्वएमालेका पक्षमा परेका ८२ सदस्यमध्ये नयाँ २३ जनाको नाम तय गर्दा नेपाल पक्षधर १३ परेका छन् ।

अध्यक्ष दाहालले पोलिटब्युरोका लागि पहिले ६७ जनाको नाम तय गरे पनि त्यही बीचमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ सम्बन्धी नयाँ सूचना आएपछि ती नाम फिर्ता लिएका थिए ।

गृहमन्त्री रहेका थापाले प्रधानमन्त्री ओलीसँग निकटता बढाएको भरपर्दो सूचना पाएर झस्किएका दाहाल महत्वपूर्ण मानिने कमिटीमा थापालाई निर्णायक बनाउने पक्षमा छैनन् । पूर्वमाओवादीले पाएका ६७ जनामध्ये थापा पक्षधरको संख्या १४ छ, जसले साथ नदिएमा पोलिटब्युरोमा आफू कमजोर हुने विश्लेषण दाहाल पक्षको छ ।

पछिल्लो समय गृहमन्त्री थापाका प्रायः साँझ बालुवाटारमा बित्ने गरेको छ, जहाँ उनी प्रधानमन्त्री ओलीसँग नजिक रहेर पार्टी सन्तुलनको हिसाबकिताब गर्नेदेखि खानपिन गर्ने गर्छन् । राती अबेरसम्म समय दिएर भएपनि प्रधानमन्त्री ओली थापालाई फकाएर आफ्नो पक्षमा राख्ने प्रयासमा छन् । अध्यक्ष दाहाल अझैपनि थापा ओलीतिर लाग्छन् भन्नेमा विश्वस्त छैनन्, ।


प्रतिकृया दिनुहोस