कमल थापा भन्छन्, महेन्द्रबारे नकारात्मक टिकाटिप्पणी नगरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आधुनिक नेपालको भौगोलिक एकीकरण राजा पृथ्वीनारायण शाहले गरेको र भावनात्मक एकीकरण राजा महेन्द्रले गरेको बताएका छन् । 

अध्यक्ष थापाले राजा महेन्द्रले नेपाललाई अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गराएको बताएका छन् । थापाले तत्कालीन अवस्थामा नेपालको राष्ट्रियता संकटमा रहेकोमा देशको राष्ट्रियता बलियो बनाई अर्ध औपनिवेशिक अवस्थाबाट मुक्त गराएको बताए । 

उनले शाह वंशीय राजा महेन्द्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न पनि सबैलाई आग्रह गरे । शाह वंशीय राजा महेन्द्रलाई निरंकुश राजाको संज्ञा दिने काम गर्नु सही विश्लेषण नभएको तर्क गर्दै थापाले महेन्द्रले राजाको रुपमा विश्वसामु नेपाललाई स्वतन्त्र राष्ट्रको पहिचान दिलाएाले हरेक देशभक्त नेपालीले उहाँको योगदानलाई भुल्न नमिल्ने पनि बताए । 

बुधबार काठमाडौंमा राप्रपा केन्द्रिय प्रचार विभागले राजा महेन्द्र १०० औं जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरेको ‘राष्ट्रियता विकास र अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा राजा महेन्द्रः  बहुआयामिक व्यक्तित्व’ विषयक प्रवचन गोष्ठीमा थापाले आधुनिक नेपालको भौगोलिक एकीकरण राजा पृथ्वीनारायण शाहले गरेको र भावनात्मक एकीकरण राजा महेन्द्रले गरेको बताए । 

राजा महेन्द्रकै कारण नेपालको सार्वभौमसत्ता र अखण्डता सुरक्षित रहेको पनि उनले दावी गरे । राजा महेन्द्रले नेपाललाई विश्व रङ्गमन्चमा चिनाएको पनि बताए । 

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाले राजा महेन्द्रकै नीतिका कारण नेपाल आजसम्म सुरक्षित रहेको बताएका छन् । राजा महेन्द्रकै शासन कालमा गृहमन्त्री समेत रहेका वर्तमान अवस्थामा राजा महेन्द्रले गरेको योजनालाई कसैले बिर्सन नहुने उनले बताए । 

नेकपा मालेका महासचिव सिपि मैनालीले आफुमा राजा महेन्द्रको जस्तो राष्ट्रवाद भएको आरोप लगाउने गरेको र उक्त आरोपप्रति आफु खुसी रहेको बताए । मैनालीले राजा महेन्द्रको २०१७ सालको कदम बाहेक सम्पुर्ण कार्य राष्ट्रियहित अनुकुल नै भएको बताए । 

पुर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, पुर्व जलस्रोत मन्त्री दिपक ज्ञवाली लगायतले राजा केहि बर्ष बाँचेका भए राजनीति व्यवस्था समेत परिवर्तन हुने सम्भावना रहेको दावी गरे । 

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले तत्कालीन अवस्थाको आवश्यकतालाई वर्तमानको आँखाले हेर्दा र मुल्यांकन गर्दा इतिहासको महत्त्वपूर्ण पात्रहरूको अपमान भएको र राजा महेन्द्रले देशका लागि योगदान दिएर पनि अपमानित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस